Tuesday, November 3, 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको पार्टी एकता सन्देश सभा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

धनगढीको कर्भडहल क्षेत्रमा आयोजित सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले नेतृत्वदायी सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा स्थानीय तहदेखि प्रदेशभरका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ ।

सभाअघि धनगढी चौराह र क्याम्पस चोक क्षेत्रबाट रंगीन झाँकी, नाराबाजी र झण्डासहितको र्‍याली निकालिएको थियो । र्‍याली शहरका विभिन्न मार्ग परिक्रमा गर्दै कर्भडहलमा पुगेर सभामा परिवर्तित भएको आयोजकहरूले जानकारी दिएका छन् ।

गत कात्तिक १९ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जन वाम घटकबीच एकता घोषणा भएको थियो । त्यसपछि नवगठित नेकपाले देशभर ‘पार्टी एकीकरणको सन्देश जनता सम्म’ पुर्‍याउने लक्ष्यसहित सातै प्रदेशमा एकता सभा गर्ने निर्णय गरेको थियाे ।

त्यसैअनुसार शुक्रबार धनगढीबाट सुरु भएको एकता अभियानअन्तर्गत भोलि (शनिबार) लुम्बिनी प्रदेशको दाङ देउखुरीमा दोस्रो सभा हुने तालिका छ ।

यस्तै मंसिर १४ गते गण्डकी प्रदेशको पोखरामा, मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेत, मंसिर १९ गते संघीय समन्वय प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा सभा हुनेछ ।

यसबाहेक मंसिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रममार्फत एकता सन्देश प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

नवगठित नेकपाले यी कार्यक्रमहरूलाई पार्टी एकीकरणको राजनीतिक कार्यदिशा र आगामी रणनीति जनतासमक्ष स्पष्ट पार्ने अवसरका रूपमा उपयोग गर्न लागेको जनाएको छ ।