गोल्डेन बुढा, जुम्ला
कात्तिक १९ गते
जुम्लाको गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न शीर्षकहरूबाट गरी कुल ३३ लाख ३९ हजार ४ सय ९० रुपैयाँ राजश्व सङ्कलन गरेको छ। स्थानीय स्रोतसाधन परिचालन, पर्यटन प्रवर्द्धन र सेवा वितरणको प्रभावकारी व्यवस्थापनका कारण गाउँपालिकाको राजश्व सङ्कलन अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए।गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्षमा प्याराग्लाइडिङ गतिविधिलाई प्राथमिक पर्यटन स्रोतको रूपमा विकास गरेको छ। यसैका परिणामस्वरूप प्याराग्लाइडिङ सेवाबाट मात्र ८ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको अध्यक्ष बुढाले बताए। उनका अनुसार यहाँको भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित भएका छन्, जसले गाउँपालिकाको आर्थिक स्रोत वृद्धिमा ठूलो योगदान पुर्याएको छ।प्याराग्लाइडिङपछि पशु शाखाबाट ७ लाख ८४ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ। पशु सेवा, खसीबोका निरीक्षण, खोप तथा गोठ व्यवस्थापन जस्ता कार्यमा सेवा शुल्कबाट आम्दानी बढेको गाउँपालिकाले जनाएको छ। त्यस्तै मालपोत कार्यालयबाट रजिष्ट्रेसन शुल्क स्वरूप ३ लाख १३ हजार ९ सय ८१ रुपैयाँ, डोजर सेवा शुल्कबाट ५ लाख ५९ हजार ५ सय रुपैयाँ, र एम्बुलेन्स सेवाबाट ८१ हजार ३ सय रुपैयाँ राजश्व प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढा (महत)ले बताइन्।उनलेे भनिन् राजश्व सङ्कलनमा ५ वडा सबैभन्दा अगाडि छ। सो वडाबाट २ लाख ५८ हजार ५ सय ३१ रुपैयाँ राजश्व संकलन गरिएको छ। त्यसपछि ४ वडाबाट २ लाख ६८ हजार ७ सय ६०,३ वडाबाट १ लाख ५३ हजार ६ सय ८५, र वडा २ बाट १ लाख १२ हजार ६ सय ५ रुपैयाँ राजश्व सङ्कलन भएको छ।सबैभन्दा कम राजश्व १ वडाबाट ८२ हजार ७ सय ३० रुपैयाँ मात्र संकलन भएको अधिकृत बुढाले बताइन्। उनका अनुसार भौगोलिक कठिनाइ र सीमित आर्थिक गतिविधिका कारण १ वडामा राजश्व सङ्कलन अपेक्षाकृत कम भएको हो।गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक १४ गतेसम्म नै ९ लाख ९७ हजार ७ सय ६३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले आगामी वर्षहरूमा आन्तरिक स्रोतबाट स्वावलम्बी बन्ने लक्ष्य लिएको छ। गाउँपालिकाले पर्यटन, कृषि, पशुपालन, जलस्रोत र पूर्वाधार विकासमा आधारित कार्यक्रमहरू अघि बढाउँदै राजश्व वृद्धिलाई प्राथमिकता दिनेछ।“हामीले सेवा शुल्क र पर्यटनसँग सम्बन्धित आयका माध्यमहरूलाई मजबुत बनाउँदैछौं। गाउँको प्राकृतिक सम्पदा र जनशक्तिलाई उपयोग गरेर आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउने हाम्रो मुख्य लक्ष्य हो,” अधिकृत मायालक्ष्मी बुढा(महत)ले भनिन्।त्यस्तै, राजश्व सङ्कलनको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न डिजिटल अभिलेख प्रणाली सञ्चालनमा ल्याइएको छ। यसले राजश्व संकलन, लेखापरीक्षण र सार्वजनिक विवरण प्रस्तुतिमा सहजता ल्याएको उनले बताइन्। राजश्व वृद्धिसँगै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सडक पूर्वाधारमा समेत लगानी बढाउने तयारी गरेको छ।






