Wednesday, August 26, 2026 | 9:59:50 PM

जुम्ला, कार्तिक १४ गते
स्थानीय सरकारले “गाउँ–गाउँमा सिंहदरबार आएको” घोषणा गरे पनि जुम्लाको सिंजा गाउँपालिकाका युवाले अझै सिंहदरबार देखेका छैनन्। उनीहरूको नजरमा सिंहदरबारको अर्थ हो,रोजगारी र अवसर। तर त्यो उनीहरूका लागि अझै सहरकै कुरा बनेको छ।कार्तिक लाग्नासाथ जुम्लामा चिसो बढ्न थाल्छ।

तर सिंजाका युवाहरूको यात्रा उल्टो दिशामा सुरु हुन्छ,भारततिर।जुम्लाको गाउँपालिका-६ का मुनबहादुर रावत पनि यस वर्ष करिब दर्जनौं युवा साथीहरूसँग भारततिर लागेका छन्।“गाउँमा बस्न के गर्ने? काम छैन,” उनले हिँड्दा भनेका थिए।

मुनबहादुरका हरेक शब्दमा असहायता र विस्थापनको पीडा मिसिएको थियो।सिंजा- ६ वडामा ४ सय ४१ घरधुरी छन्। उक्त वडामा रुघा,काडागाउँ,भाडगाँउ र जाेडु गाउँ पर्नेछन्। तर अहिले काम गर्ने उमेरका प्रायः सबै पुरुष भारत पुगेका छन्।वडा अध्यक्ष लालबहादुर बुढा भन्छन्,“गाउँमा अहिले महिला, बालबालिका र वृद्धबाहेक कोही छैन।

काम गर्नसक्ने सबै जना भारततिर पलायन भइसके।”यस्तै छिमेकी कनकासुन्दी र हिमा गाउँपालिकाको अवस्था पनि उस्तै छ। गाउँका अधिकांश घरमा केवल बालबालिका,बुढाबुढी र महिलाहरू छन्।“बिरामी परे पनि बोकेर लैजाने पुरुष भेटिँदैन,” स्थानीय सालसरी रोकाया भन्छिन्, “हाम्रो गाउँ मर्दापर्दा पनि मर्दविहीन बनेको छ।”सिंजा क्षेत्र कर्णालीकै मात्रै होइन, देशकै गरिबी सूचकाङ्कमा पछाडि छ।

यहाँ न उद्योग छन्, न रोजगारीका योजना। खेतीपाती वर्षमा दुईपटक मात्रै हुन्छ, त्यो पनि मौसमको भरोसामा।“हामीकहाँ न काम छ, न सीप सिकाउने ठाउँ,” युवा पुर्णबहादुर बुढा भन्छन्,“काम गर्न चाहने मान्छे धेरै छन्, तर काम दिने कोही छैन। त्यसैले भारत जान बाध्य छौँ।”पुरुषहरू भारत गएकाले गाउँको सम्पूर्ण जिम्मेवारी महिलामाथि छ।खेती, पशुपालन, बालबालिका र वृद्धको हेरचाह सबै उनीहरूले नै गर्छन्।

“हामी खेती गर्छौँ, बाटो बनाउँछौँ, रोगीलाई हेरचाह गर्छौँ,” लालसरी रोकाया भन्छिन्,“तर जब कुनै आपत् पर्छ, मर्द नहुँदा आँसु बाहेक केही रहँदैन।”पुरुषहरू भारतमा पसिना बगाइरहेका बेला गाउँका महिलाहरूले आफ्नो श्रम र धैर्यले गाउँ जोगाइरहेका छन्।स्थानीय सरकार रोजगार सृजनाको जिम्मेवारी लिने भनिए पनि सिंजा क्षेत्रमा अझै कुनै ठूला उद्योग वा आयोजना छैनन्।

व्यावसायिक कृषि, सीपमूलक तालिम वा लगानीका अवसर नहुँदा युवाहरूका लागि गाउँमै टिक्ने आधार छैन।वडा अध्यक्ष बुढा भन्छन्,“यदि सरकार र गाउँपालिकाले युवालाई सीप सिकाएर सानो व्यवसाय सुरु गर्ने सहयोग गरे भने उनीहरू गाउँमै बस्न तयार छन्।

”कार्तिकदेखि मंसिरदेखि सुरु हुने यो पलायन फागुनतिर मात्रै कम हुन्छ।कसैले रेल चढेर हरिद्वार पुग्छ, कसैले देहरादून वा लुधियाना। उनीहरू दिनभर ईंटा, बालुवा र ढुंगाको भारी बोक्छन्।केहीले हिड्डुल गर्ने व्यापार गर्छन् राति थकाइमा निदाउँछन्।

“भारतमा मजदुरी नगरे खर्च चल्दैन,” सेरबहादुर बुढा भन्छन्,“कसैले ऋण काढेर भए पनि जानैपर्छ।”स्थानीय सरकारको बजेटका पाना रोजगारीका योजनाले भरिएका हुन्छन्। कार्यान्वयन शून्य छ।“हामीले ‘गाउँमा सिंहदरबार आयो’ भन्ने सुनेका हौँ,” पुर्णबहादुर बुढा भन्छन्,“तर सिंहदरबार आए पनि रोजगारी आएन। कुरा धेरै छन्, काम छैन।

”युवाहरु भन्छन्“हामीलाई ठूलो सपना चाहिँदैन, आफ्नै गाउँमा पसिना बगाउने अवसर होस्,“कहिले आउला त्यो दिन, जब गाउँमै रोजगारी पाउँछौं?”व्यवस्था बदलियो, सत्ता फेरिए, भाषण बदलिए। तर सिंजाको दैनिकी त्यही छ।गाउँ अझै सुनसान छ, चुलोको आगो अझै महिलाकै हातमा छ,र युवाहरू अझै कालापहाड को बाटोमै छन्।“गाउँमा सिंहदरबार आयो, तर रोजगारी आएन।”यही वाक्य अहिले सिंजाको वास्तविकता हो।

आजभोलि कर्णाली राजमार्गमा मजदुरी लागि भारत तिर जाने हजारौं सवारीसाधन मात्रै चल्छन्।सिंजाकाे धितालिही,कनकासुन्दरीकाे गाेठिज्युला र हिमा गाउँपालिका भित्रा पुरुषहरु बाघ बजारदेखि नाग्मा हुदै सुर्खेत,नेपालगन्ज रुपडिया नाका हुदै भारत पलायन हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय