फोटो गोल्डेन बुढा
जुम्ला, जुम्लामा भित्र्याउन लागेको धानबालीमा सोमबार रातिदेखि परेको पानीका कारण भिज्दा किसान चिन्तित छन् । जुम्ला जिल्लाको चन्दननाथ, हिमा र तातोपानीका किसानले धान भित्र्याउन सुरु गरेका थिए । जुम्लाका किसानले धानबाली काटेर खेतमै सुकाएको अवस्थामा पानीले परेर भिजाएको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकले कुल ८ स्थानीय तहमध्ये ५ पालिकाका किसानले धानबाली भित्र्याइसकेका थिए । कनकासुन्दरी, सिंजा, तिला, गुठिचौर र पातारासीका किसानले धान भित्र्याइसकेका कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तातोपानी, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले भित्र्याएका थिएनन् । कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको २० प्रतिशत धान भिजेको कृषि विकास कार्यालयले जनाएको छ ।
चन्दननाथ नगरपालिकाको गैरागाउँ, पिपलगाउँ र जातिभिडका किसानले धान भित्र्याउन बाँकी छ । यहाँका किसानले भित्र्याउन धान काटिसकेका छन् । चुट्न र घरमा ल्याउनु नपाउँदै वर्षाले भिजाएको हो। ।
तातोपानी गाउँपालिकाको राँका, बाइराँका, लाछु जिउला र डाँगीबाडा जिउलामा धान भित्र्याउन सकेका छैनन् । हिमा गाउँपालिकाको दयारगाउँ र मोफ्लाका किसानले धान ढालिसकेका छन् । तलिकुडु र माथि कुडुगाउँका किसानले धान काटेका छैनन् ।
घर भित्र्याउने भनेर खेतमै काटिएको धानबाली भिजेकोले किसान चिन्तित बनेका छन् । ‘प्रमुख अधिकारीले भन्नुभयो धान भिज्दैमा क्षति भयो भन्न मिल्दैन्,‘वर्षा रोकिएर घाम लाग्यो भने खासै असर नपर्ने तर दुई/चार दिनसम्म पानी परिरहृयो भने चामलमा कनिका धेरै हुने संभावना हुने बताउनुभएको छ । यदि एक सातासम्म पनि वर्षा रोकिएन भने धानका दाना, बाला र डाँठ खेतमै कुहिएर खेर जाने र उम्रिने समस्या देखिने उहाँले बताउनुभएको छ ।’
कृषि कार्यालयले बिहानैदेखि हरेक स्थानीय तहका कृषि शाखामा समन्वय गरेर धानबालीको अवस्था बुझेको थियो । किसानले काटेको धान पालमा छोपेर राखेका छन् ‘भने डाँठसहित घरमा पुर्याएका छन,’ प्रमुख अधिकारीले भन्नुभयो, ‘केही किसानले खेतमै लहरा बनाएर राखेका छन् । त्यही धान निरन्तर भिजिरहेको छ ।’
स्थानीय पार्वती तिरुवाले पटक धान राम्रो फलिरहेको भए पनि वर्षाले घर भित्र्याउन समस्या भइरहेको बताउनुभयो । वर्षा भइरहे खेतमा धान ढलेर काम नलाग्ने हुन सक्ने भन्दै किसान चिन्तित बनेका छन् । जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिँदै आएको छ । जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

फोटो: पार्बती तिरुवा






