Tuesday, November 3, 2026

जुम्ला, जुम्ली किसान यतिबेला घाँस काट्न व्यस्त रहेका हुन्छन् । असोज कार्तिक महिनामा जुम्लाका किसान वनपाखा र खेतबारीमा जताततै घाँस काटिरहेका देख्न सकिन्छ ।

असोज र कार्तिक महिनामा काटेको घाँस सुकाएर मङ्सिरदेखि माघ फागुनसम्म पशुचौपायालाई खुवाउने गरेका छन् ।

असोज कार्तिकको महिना काटेको घाँसलाई काटेर सुकाएर लडा बाटी आग्ला लगाएर हिँउदको महिना मङ्सिरदेखि फागुनसम्म भैसी, भेडा, बाख्रा र घोडाघोडीलाई खुवाउने गरेको गुठीचौर गाउँपालिका ४ का किसान मिनराज अधिकारीले बताउनुभयो। आजभोलि जताततै हरियाली हुने र हिउँदको समयमा घाँसपात नपाइने भएकोले अहिले वनपाखामा भएको घाँसपातलाई काटेर रुखमा राखेर गाई भैसीका लागि सहज बनाउने गरेको छन्  ।

किसानहरु घाँस काट्नको लागि आजभोली मेला र खेतबारीमा व्यस्त हुने गरेका छन् । जताततै मानिसले घाँस काट्दै गरेको लहरा बाँड्दै गरेको र कसैले घाँस बोकेको घाँसका आग्ला चिन्दै गरेको भेट्न सकिन्छ।

 योभन्दा १० वर्ष पहिले हिमपात धेरै हुने चारैतिर हिउँले ढाक्ने र गाईभैंसीलाई घाँस खुवाउनका लागि गाह्रो हुने गरेको थियो। अहिले भने गाई भैसीका लागि हिमपात कम हुँदा सहज हुने गरेको उहाँले बताउनुभएको  छ। अधिकारीले भन्नुभयो यो वर्ष भने बेलाबेला पानी परिरहेकाले घाँस काट्न भने असहज भएको उहाँको भनाइ छ। घाँस राम्रो हुनका लागि दिनभरि घाम लाग्नुपर्ने त्यसपछि मात्र घाँस राम्रो हुने बताउनुभयो।

 चौपायाको लागि प्रत्येक वर्षको असोज , कार्तिक महिनामा वनपाखा र खेतवारीको हरियो घाँस काट्नै पर्ने बाध्यता रहेको छ । काटेको घाँस मजासँग घाममा सुकाएर पशुचौपायालाई हिउँदको महिना खुवाउने गरिएको छ । हिमाली जिल्लामा हिमपात र चिसो हुने गर्छ । त्यतिखेर पशु चौपाए गोठभित्रै हुने गरेका छन् । त्यतिबेला भने गोठमै सुकाएको घाँस खुवाउने गरिन्छ ।