जुम्ला । स्याउ बीमा क्षतिपूर्तिको माग गर्दै शिखर इन्स्योरेन्सको जुम्ला शाखामा किसानहरूले लगाएको ताला खुलेको छ । स्याउ बीमा क्षतिपूर्तिको माग गर्दै शिखर इन्स्योरेन्सको जुम्ला शाखामा किसानहरूले लगाएको ताला कुल ११ बुँदे सहमति पछि खोलिएको छ। किसान राजबहादुर खत्रीले साउन २ गतेबाट सुरु गरिएको तालाबन्दी ११ बुँदे सहमति भएपछि खोलिएको वताउनुभयो ।
मौसमजन्य कारणले स्याउ उत्पादनमा क्षति भएपनि बीमा रकमको भुक्तानी नपाएको भन्दै किसानहरू इन्स्योरेन्स कम्पनीमा धाइरहेका थिए । तर, माग सुनुवाइ नभएपछि तालाबन्दी गर्दै आन्दोलन समेत गरिएको थियो । आन्दोलन पछि सरोकारवाला पक्षबीच संवाद सुरु भई सहमतिमा पुगेको किसानहरूको भनाइ छ। किसान महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक खड्ग बहादुर सेजुवालले समयमा बीमा भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिएको बताउनुभयो । शिखर इन्स्योरेन्सले प्रक्रियागत कमजोरी स्वीकार्दै समाधानका लागि वार्तामा सहमति जनाएको बताउनुभयो ।
वार्तामा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित प्रसाद काफ्ले, नायब प्रबन्धक सार्थक राज पाण्डे, प्रदेश प्रमुख गणेश प्रसाद जोशी, कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डे र जुम्ला शाखा प्रमुख लक्ष्मण उपाध्याय काफ्ले सहमति पत्रमा हस्तक्षर गरेका छन् ।
किसानका तर्फबाट संयोजक सेजुवाल सहित महानन्द चौलागाईं, राजबहादुर खत्री, मन्न बहादुर थापा र भैरव बहादुर धराला प्रतिनिधिका रूपमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार किसानले बीमा दाबीका लागि लालपुर्जा, नागरिकता, स्वामित्वका अन्य कागजात, लिज सम्झौता, नाता प्रमाण र चेकको प्रतिलिपि पेश गर्नुपर्ने छ। प्रमाण उपलब्ध गराएको कम्तीमा ७ दिनभित्र बीमा रकम भुक्तानी गरिने सहमति भएको छ।
त्यस्तै, किसानले क्षतिको प्रतिवेदन बुझाएपछि नगद भुक्तानीको व्यवस्था गरिने र क्षतिको पुनः मूल्याङ्कनका आधारमा मात्र भुक्तानी हुने व्यवस्था गरिएको इन्स्योरेन्सले जनाएको छ । सहमति पछि आफ्ना माग पुरा हुने भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन् ।
किसान् र शिखर इन्स्योरेन्स बिच भएको सम्झौता पत्र








