Tuesday, November 3, 2026

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका २० वर्षीय प्रकाश सुनारले कर्णाली प्राविधिक शिक्षालयमा तीन वर्षे आईएसीएजी कोर्स पूरा गेका छन् । कोर्स सकिएपछि उनले विभिन्न ठाउँमा जागिर खोजे, तर मनपर्ने काम नपाएपछि आफ्नै बाटो खोज्ने निर्णय गरे। जुम्लामा घुम्न आउने पर्यटकहरूले फोटो खिचेर सम्झना राख्ने चाहना राख्छन् भन्ने कुराले उनलाई फोटोग्राफीको बाटोमा डो¥यायो। उनले यो पेशालाई रमाइलो र आम्दानीको स्रोत बनाउन सकिने देखे।

प्रकाशले सुरुमा क्यामेरा चलाउन जान्दैनथे। तर, उनको जेठो दाइको सहयोगले क्यामेरा चलाउन सिके। उनले कुनै औपचारिक तालिम लिएनन्, तर अभ्यास र लगनले फोटोग्राफीमा पोख्त भए। विगत आठ महिनादेखि उनले जुम्ला उपत्यकाका पर्यटकीय स्थलहरूमा आन्तरिक र बाह्य पर्यटकका फोटो खिचेर राम्रो आम्दानी गरिरहेका छन्। पर्यटकहरूले आफ्नो यात्रालाई यादगार बनाउन फोटो र भिडियो खिचाउने चाहना राख्छन्, र प्रकाशले यो अवसरलाई उपयोग गरेका छन्।

प्रकाशले पर्यटकका गुणस्तरीय फोटो खिचेर तुरुन्तै मोबाइलमा उपलब्ध गराउँछन्। उनले प्रति फोटो २० रुपैयाँ लिन्छन्। ‘एक दिनमा सयौं फोटो खिच्छु, पर्यटकलाई मन परेमा मोबाइलमै फोटो पठाउँछु,’ उनले भने। अहिले पर्यटकहरूले नै उनलाई फोटो खिच्न खोज्छन्। उनी विशेषगरी चन्दननाथ नगरपालिका–६ मा रहेको पवित्र स्तूपा डुडुल चैत्यमा बिहान १० देखि बेलुका ५ बजेसम्म फोटो खिच्न व्यस्त हुन्छन्। साथै, गुठिचौर, धिमीचौर, कर्णाली प्राविधिक शिक्षालय, खाली पाटन र धिताचौरको केसर खेती क्षेत्रमा पनि अर्डरअनुसार फोटो खिच्न पुग्छन्।

प्रकाशले फोटोग्राफीबाट मासिक ५० देखि ७० हजार रुपैयाँ कमाउँछन्। यो आम्दानीले उनले आफ्नो र छ जनाको परिवारको खर्च धानिरहेका छन्। ‘फोटोग्राफीले मलाई आत्मनिर्भर बनाएको छ, घोटिएर काम गर्नुपर्दैन,’ उनले भने। यो पेशाबाट उनका साथीहरू र परिवार पनि प्रभावित छन्। उनका दाजु दिनेश सुनारका अनुसार प्रकाशले दैनिक औसत एक हजार पाँच सय रुपैयाँ कमाउँछन्। यो कामले उनलाई आर्थिक स्वतन्त्रता मात्र होइन, आत्मसन्तुष्टि पनि दिएको छ।

प्रकाशजस्तै जुम्लाका अन्य युवाहरू पनि फोटोग्राफीबाट आत्मनिर्भर बन्दैछन्। गुठिचौर गाउँपालिका–४ खल्लाबाडा गाउँका १९ वर्षीय अर्जुन नेपालीले तीन महिनादेखि यो पेशा अँगालेका छन्। नेपालगन्जको वाटर पार्कमा ४५ हजार रुपैयाँ खर्चेर तालिम लिएका अर्जुनले दैनिक दुई हजार रुपैयाँ कमाउँछन्। यो आम्दानीले उनले दुई बहिनीको पढाइ र परिवारको खर्च धानिरहेका छन्। ‘फोटोग्राफी मेरो शौक र आवश्यकता दुवै पूरा गर्ने माध्यम बनेको छ,’ उनले भने।

त्यस्तै, तिला गाउँपालिका–४ सापुल्ली गाउँका एकिन्द्र शाहीले पनि दुई वर्षदेखि पवित्र स्तूपा डुडुल चैत्यमा फोटो र भिडियो खिचेर दैनिक एक हजार पाँच सय रुपैयाँ कमाउँछन्। उनले प्रति फोटो २० रुपैयाँ र प्रति भिडियो ५० रुपैयाँ लिन्छन्। रोल्पाको गंगादेव गाउँपालिका–६ खानी गाउँका जीवन रानाले पनि पाँच महिनादेखि यही काम गरेर मासिक ३५ हजार रुपैयाँ कमाइरहेका छन्। यी युवाहरूले फोटोग्राफीबाट आम्दानी मात्र होइन, जुम्लाको पर्यटकीय स्थलको प्रवद्र्धनमा पनि योगदान पु¥याइरहेका छन्।

बौद्ध मार्गी सेवा संघका चौकीदार गोर्ख बुढाका अनुसार प्रकाश, अर्जुन, एकिन्द्र र जीवनले संघसँग एक वर्षको सम्झौता गरेका छन्। उनीहरूले प्रति व्यक्ति तीन हजार रुपैयाँ राजस्व तिर्छन्। पवित्र स्तूपा डुडुल चैत्यमा दैनिक पाँच सयदेखि सात सय पर्यटक आउँछन्, र संघले प्रति पर्यटक २० रुपैयाँ टिकट शुल्क लिन्छ। यी युवाहरूले फोटो र भिडियो खिचेर पर्यटकलाई सेवा दिनुका साथै जुम्लाको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।