जुम्ला, शिखर इन्स्योरेन्सले स्याउ बिमाको रकम भुक्तानी नदिएको भन्दै जुम्लाका हजारौं किसान आन्दोलित भएका छन्। बिमा बापतको रकम स्याउ किसानले तत्काल पाउनुपर्ने भन्दै जुम्लाका किसान आन्दालित भएका हुन् । आन्दोलनकारीले स्याउ बिमाकाे रकम मात्र नभएर याे वर्षकाे बिमा गर्न गरिदिन पनि माग गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दा सम्म बिमा गरेको रकम भुक्तानी नभएकाले आन्दोलन गर्न बाध्य भएकाे आन्दोलनकारीले बताएका छन् ।
पहल समिति संयोजक खड्कबहादुर सेजवालका अनुसार, स्याउमा खडेरी र असिनाले क्षति पुर्याउँदा क्षतिपूर्ति पाउने गरी स्याउ बिमा गरिएका थियाै । सो बापतको रकम अहिलेसम्म नपाउदा यस्ताे अवस्था आउन बाध्य भएको बताए ।
किसानले जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिर नजिकबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थियाे । स्याउ बिमाको रकम तुरुन्त भुक्तानी गर, किसान आन्दोलन जारी छ, जुम्ली किसान एक हौं’ जस्ता नारा लगाइएका थिए । स्याउ बिमा पहल समिति संयोजक सेजवालले किसानलाई बिमा रकम दिन आलटाल गरेको गुनासाे गरे ।
बिमा रकम तत्काल उपलब्ध गराउन धेरैपटक माग राखे पनि बिमा कम्पनीले आलटाल गरेकाले सडकमै उत्रनु पर्ने अवस्थाकाे सृजना भएकाे गुनासाे गरे । गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो। बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानको ठहर रहेकाे सेजुवालकाे भनाइ छ ।
स्याउको बिमा गर्दा किसान उत्साहित थिए, तर अहिले नपाउँदा निरुत्साहित बन्नुपरेको छ । बिमा रकम उपलब्ध गराउन माग राख्दै उनीहरूले किसान सञ्जाल बनाएका छन्।
सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको पनि निगरानी गर्ने छ। आर्थिक वर्ष सकिन लाग्दा समेत अघिल्लो आर्थिक वर्षकाे बिमा रकम नपाउदा दुख लागेकाे आन्दोलनकारीले बताएका छन् ।
यस्तै शिखर इन्स्योरेन्स कम्पनीले अनुदानको रकम प्राप्त नभएको स्पष्टीकरण दिएको छ। किसानले गलत मनसायले बोट संख्या बढाएको दाबी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ५ सय ७४ कृषकमध्ये ६ हजार ६ सय १३ कृषकको निरीक्षण गर्दा औसत करिब २५ प्रतिशत बोट बढाइ बिमा गरेको देखिएको छ । हाल ९ सय ९४ कृषकको बोट संख्या विवरण एकिन गर्न नसकेको कम्पनीले बताएको छ।






