जेठ २० गते २०८२
जुम्ला, जुम्लामा अलपत्र परेका योजना अघि बढाउन जुम्लाका राजनीतिक दलहरू एकढिका भएको देखिएका छन् । अलपत्र योजनाको काम अघि बढाउन र विकास निर्माणमा देखिएका ढिलासुस्ती, अनियमिताजस्ता कार्य रोक्न दलले सक्रियता बढाएका हुन् । जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र अलपत्र योजनाका बारेमा चासो दिन क्रियाशील विभिन्न राजनीतिक दलले सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफलमा कांग्रेसका कार्यवाहक जिल्ला सभापति कार्मा बुढाले जिल्लामा थुप्रै योजना अलपत्र रहेको भन्दै ती आयोजना अघि बढाउन प्रमुख जिल्ला अधिकारी गम्भीर रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, एमाले जिल्ला अध्यक्ष शान्तिलाल महतले विकास योजनामा भइरहेको ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीले चासो नदिएको आरोप लगाउनुभयो । ‘विकासे कार्यालय र ठेकेदारको मिलोमतोमै योजनाहरूमा ढिलासुस्ती भइरहेको उहाँको भनाई छ । सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन पहल गर्नुपर्ने उहाँले वताउनुभयो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले सदरमुकामसँगै जोडिएको चन्दननाथ–१० मा सडक निर्माणका नाममा घरजग्गामा क्षति पु¥याउने र योजना अलपत्र पार्ने काम भइरहेको बताउनु भएको छ । विकासका नाममा सिँचाइ कुलो नै भत्काएर सडक खन्न थालेपछि अहिले धान रोपाइँमा सास्ती भइरहेको उहाँले वताउनु भएको थियो ।
दलहरूले जुम्ला बसपार्क, नाग्म गमगडी सडकमा रहेका दुई पक्की पुल, जुगाडखोला करिडोर, रंगशाला, खलंगामा ढुंगा बिछ्याउने, सभाहल निर्माण, बृहत् धौलिगाड खानेपानी आयोजनाको काममा ढिलासुस्ती भइरहेको बारेमा ध्यानाकर्षण गराएको हो । १ अर्ब २६ करोड लागतमा सुरु भएको धौलिगाड खानेपानी आयोजना पनि अलपत्र परेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अलपत्र आयोजनाका बारेमा लिखित रूपमै निवेदन दिएको भए एक्सनमा जान सहज हुने बताउनुभयो । ढिलै भएपनि जिल्लाका विकास निर्माणबारे दलहरूले राखेको चासोलाई सकरात्मक रूपमा लिएको वताउनुभयो । सबै आयोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिएर छलफलको वातावरण बनाउने प्रतिबद्धतो जनाउनुभयो ।






