हेटौँडा – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।
बडादशैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।



उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उनले बताए। “उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”, महाप्रबन्धक पाण्डेले बताए ।
उक्त उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकामा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।



