जुम्लाको कनकासुन्दरी गाउँपालिकाले शिक्षकलाई प्रत्येक दिन ५० रुपैयाँ खाजा खर्चस्वरुप प्रदान गरिरहेको छ । गत असार महिनादेखि शिक्षकलाई खाजा खर्चका लागि ५० रुपैयाँ दिन थालिएको हो । विद्यालयमा रहेका शिक्षक, कार्यालय सहयोगी र कर्मचारीलाई खाजा खर्चको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिनु भयो । माध्यमिक तहमा ५ सय रुपैयाँ, आधारभूत तहमा २५० र प्राथमिक तहमा २ सय रुपैयाँ प्रशासनिक खर्च उपलब्ध गराइएको उहाँले बताउनुभयो । कनकासुन्दरीमा २७ विद्यालय रहेका छन् । ४३३ जना शिक्षक कर्मचारी रहेका छन ।
हरेक विद्यालयका प्रधानाध्यापकलाई प्रशासनिक भत्ताको व्यवस्थासमेत गरिएको उहाँको भनाइ छ । २७ जना प्रधानाध्यापकले प्रशासनिक खर्च पाउदै आएको गाउँपालिका अध्यक्ष आचार्य भनुभयो, शिक्षकहरुको मनोबल उच्च बनाइराख्न खाजा खर्चको व्यवस्था गरिएको बताउनु भएको छ ।
‘शिक्षकहरुमा उत्साह छाओस् भनेर यो व्यवस्था गरेको उहाँले बताउनुभयो ।’ विद्यार्थीले दिवा खाजा खाए पनि शिक्षकले दिनभर भोकै पढाउनुपर्ने बाध्यता रहेको यो ब्यवस्थापन गरिएको हो ।
विद्यालयमा गुणस्तर कायम गर्न पटकपटक अनुगमन हुने गरेको छ । पहिलो चरणमा अनुगमन गर्दा शिक्षकहरुले पनि समस्या भोगिरहेको देखिएपछि पालिकाले खाजा खर्च दिने निर्णय गरेको हो । ‘पहिले शिक्षकहरु विद्यालय नजाने, ४५ मिनेट पनि नपढाउने समस्या घटाउन पनि यो ब्यवस्था गरिएको हो ।
शिक्षा शाखामा कार्यरत जीवन रोकायाले अहिले पहिलेको भन्दा पढाइमा निकै सुधार देखिएको बताउनु भएको छ ।’ अनुगमनका क्रममा ७ जना शिक्षक निगरानीमा थिए । उनीहरुलाई पालिकामा बोलाएर स्पष्टीकरण सोधेपछि अहिले नियमित रहेका छन् । पहिले मनलाग्दी बिदा बस्दा विद्यालयमा उपस्थिति निकै कम थियो । अहिले शिक्षकहरु प्रधानाध्यापकले बिदा स्वीकृत नगर्दासम्म बिदा बस्न नपाउने गरेका छन् ।
कनकासुन्दरीले १० वर्षे शिक्षा रणनीति योजना बनाएको छ । यो वर्ष शिक्षा क्षेत्रमा विनियोजित २५ लाख रुपैयाँमा ७५ प्रतिशत बजेट क्षमता विकास तालिममा खर्चिएको छ । ७ वटा विद्यालयमा स्मार्टबोर्ड जडान गरिएको छ । ७ जना आईटी शिक्षक नियुक्त गरेको कनका सुन्दरी गाउँपालिकाले जनाएको छ । अहिले कनकासुन्दरीका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा छन् । प्रोत्साहनस्वरुप दिइएको भत्ताले राम्रो काम गरिरहेको छ । पालिकाले खाजा खर्च दिएर शिक्षकहरुको सम्मान गरेको छ ।’






