जुम्ला । रसुवामा आएको विनाशकारी बाढीका कारण जुम्लाको पातारासी गाउँपालिका यतिबेला गहिरो शोकमा डुबेको छ। बाढीमा परी पातारासीका ६३ जना नागरिक अझैसम्म बेपत्ता छन्। आफन्तको अवस्था अझै अज्ञात रहँदा छटपटाइरहेका पीडित परिवारलाई साथ दिन जिल्ला प्रशासन, स्वास्थ्यकर्मी र सरोकारवालाको टोली मष्चभअत गाउँमै पुगेको छ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा पुगेको टोलीले बेपत्ताको पहिचानका लागि डिएनए(म्ल्ब्) संकलनको प्रक्रिया सुरु गरेको छ। साथै, पीडित परिवारलाई मलम लगाउन मनोसामाजिक परामर्श र निःशुल्क स्वास्थ्य उपचार सेवासमेत दिन थालिएको छ। हाम्रा सहकर्मीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले प्रभावित परिवारको यथार्थ विवरण ३ दिनभित्र बुझाउन गाउँपालिकालाई निर्देशन दिनुभएको छ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले “दुःखको यो घडीमा पीडित परिवार एक्लो छैन। जिल्ला प्रशासन र सबै सरोकारवाला निकाय तपाईंहरूकै साथमा छ। हामी चाँडै वास्तविक विवरण संकलन गरेर दीर्घकालीन पुनर्नर्माण र सहयोगका काम अघि बढाउँछौँ।“
यसैबीच, पीडित परिवारका लागि राहत संकलन र वितरणको काम पनि तीव्र पारिएको छ। पातारासी गाउँपालिकाले तत्कालका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।
त्यस्तै, युवा अभियन्ता उपेन्द्र बुढ्थापाको सक्रियता र विभिन्न मनकारी व्यक्तिहरूबाट संकलित ५ लाख ७७ हजार ४ सय १७ रुपैयाँ नगदबाट बेपत्ताका परिवारलाई तत्काल प्रतिपरिवार ४१ हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको छ। सहयोग रकम जुटाउन पातारासी–२ का जंगविर बोहराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ व्यक्तिगत सहयोग गर्दै २३ जना मनकारी दाताहरूलाई एक ठाउँमा ल्याउनुभएको थियो। खाद्यान्न, कपडा र औषधि सामग्रीसमेत गाउँमै पुगेर हस्तान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष पूर्ण सिङ बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले अब प्राप्त हुने सबै सहयोगलाई ‘एकद्वार प्रणाली’ मार्फत पारदर्शी रूपमा पीडितसमक्ष पु¥याइने बताउनुभएको छ।
राहत र डिएनए परीक्षणले तत्कालीन सहारा दिए पनि, दिनरात बाटो हेरेर बसेका पीडित परिवारको एउटै मुख्य माग छ, “हाम्रा बेपत्ता आफन्तको वास्तविक अवस्था जे–जस्तो छ, सरकारले तत्काल सार्वजनिक गरिदेओस्।“







