Wednesday, September 16, 2026

ताजा अपडेट

राम प्रकाश विक,जुम्ला । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवालाई मात्र होइन, सयौँ किलोमिटर टाढा रहेको हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिका–२ स्थित लाम्री गाउँलाई गहिरो शोकमा डुबाएको छ। कामको सिलसिलामा रसुवा पुगेका युवाहरू बाढीमा परेर बेपत्ता भएपछि गाउँका १५ घरपरिवार अहिले रातदिन आँसु पिएर टोलाइरहेका छन्।स्थानीयका अनुसार लाम्री गाउँबाट २० जना युवा काम गर्न रसुवा गएका थिए, जसमध्ये ५ जना मात्रै घर फर्कन सफल भए। बाँकी १५ युवाको अझै कुनै अत्तोपत्तो छैन।
खेतीपाती गरेर गुजारा चलाउँदै आएको हर्कको परिवार छोरा ध्रुवकै भरोसामा चलेको थियो। अन्तिम संवादः भदौ ९ गते राति ९ बजे ध्रुवले बुवालाई फोन गरेर भनेका थिए— “पहिले राति ड्युटी थियो, अहिले दिउँसो छ। खाना खाएर सुत्न थालेको छु, भोलि बिहान फोन गर्छु।” तर भोलिपल्ट न फोन आयो, न त कुनै खबर। महिनामा रु. २८ हजारदेखि ४० हजारसम्म पठाउने ध्रुवले विगत तीन महिनादेखि पैसा पठाएका थिएनन्। बैंकमा जम्मा भएको रु. २ लाख सम्झिँदा अहिले बुवा तर्सिने गर्छन्। सुरेन्द्र बुढा—३ वर्षीया छोरी र वृद्ध आमाका सहारा थियो। ३ वर्ष ८ महिनाकी छोरी, ५७ वर्षीया आमा र श्रीमती विष्णुमायाको जिम्मेवारी सुरेन्द्रकै काँधमा थियो। साउनमा मात्रै काम गर्न रसुवा फर्किएका सुरेन्द्रले भदौ ९ गते राति श्रीमतीलाई फोन गरेर परिवारको सुख फर्काउने ढाडस दिएका थिए। भदौ १० पछि उनी निरन्तर सम्पर्कविहीन छन्।
विशाल बुढा (१८ वर्ष) कक्षा ९ मा पढ्दापढ्दै काममा गएका थिए। सुकिराम बुढाका जेठा छोरा विशाल घरको मुख्य सहारा थिए। मंसिर महिनामा साथीहरूसँगै रसुवा पुगेका उनी बाढीपछि बेपत्ता भएका हुन्। प्रकाश बुढा (२१ वर्ष) १९ वर्षीया कविता र ९ महिनाकी छोरीको पर्खाइ रेका छन। १९ वर्षीया कविता बुढा आफ्ना २१ वर्षीय श्रीमान् प्रकाशको बाटो हेरेर बसिरहेकी छन्। ९ महिनाकी छोरी बुवा खोज्दै छिन्। कलिलै उमेरमा खुसी लुटिएको कविताको दुखेसो छ। सन्तोष बुढा (१९ वर्ष) काठमाडौँसम्म खोज्न पुगेका बुवा रित्तो हात फर्किए। कक्षा ११ मा पढ्दै गरेका सन्तोष बेपत्ता भएको खबर पाउनेबित्तिकै बुवा दलबहादुर जहाज चढेर काठमाडौँ हुँदै त्रिशूलीसम्म पुगे। तर सेनाले बाढीग्रस्त क्षेत्रमा जान दिएन र हेलिकप्टरको पहुँच पुगेन। १० दिनको निष्फल प्रयासपछि उनी गाउँ फर्किए।
असारमा मात्रै विवाह गरेका सन्तोषका लागि बुवाले १२ पास गरेर विदेश जाने सल्लाह दिएका थिए, तर उनी साथीहरूसँग रसुवा पुगेका थिए। जुम्ला जिल्लाभरिको तथ्यांकजिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार भोटेकोशी बाढीपछि जुम्लाका कुल ६४ जना नागरिक अझै सम्पर्कविहीन छन्न। पालिकाबेपत्ता नागरिक संख्यामा पातारासी गाउँपालिका४९ जना,गुठिचौर गाउँपालिका९ जना, चन्दननाथ नगरपालिका५ जना, सिजा गाउँपालिका१ जना जम्मा६४ जना रहेका छन्।
राज्य संयन्त्रप्रति आक्रोश र पीडितका गुनासोबाढी आएको दुई हप्ता (१४ दिन) बितिसक्दा पनि सरकारी संयन्त्रबाट प्रभावकारी खोजी र राहत नभएकोमा पीडित परिवार निकै आक्रोशित छन्न।
“दैलोको सरकार” भनिने स्थानीय जनप्रतिनिधिहरू सान्त्वना दिनसमेत घरदैलोमा नपुगेको पीडितहरूको गुनासो छ। जिल्ला विपद् व्यवस्थापन समिति तथ्यांक संकलन गर्ने बाहेक उद्धार र राहतमा निष्क्रिय बनेको आरोप छ। राज्यको माथिल्लो निकायसम्म पहुँच नहुँदा उद्धार कार्यमा ढिलाइ भएको र आफन्तको लास वा सास केही पनि पाउन नसकेको पीडित परिवारको दुखेसो छ। राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा प्रमुख कल्पना नेपाल आचार्यले पीडित परिवारको घरमै पुगेर अवस्था बुझ्दै भनिन्न “भोटेकोशी बाढीमा हराइरहेका परिवारको अवस्था ज्यादै नाजुक छ। अब सबै निकाय मिलेर उनीहरूलाई तत्काल राहत तथा मनोपरामर्श सेवा दिनु अति जरुरी छ।
१ सय १५ घरधुरी रहेको लाम्री गाउँका अधिकांश युवाहरू विदेश जाने तयारीका लागि रकम जुटाउन रसुवाका निर्माण क्षेत्र तथा आयोजनाहरूमा काम गर्न पुगेका थिए। तर अहिले सिङ्गो गाउँ नै युवाहिन जस्तै बनेको छ। पीडित परिवारको एउटै माग छ। “सके सास, नत्र लास भए पनि खोजिदेऊ।“