Tuesday, August 25, 2026 | 11:51:28 AM

कर्णालीको काखमा अवस्थित जुम्लाको तत्कालीन गज्याङ्कोट गाविस (हाल गुठीचौर गाउँपालिका) को गज्याङ्कोट गाउँ। भूगोल जति नै सुन्दर र मनोरम भए पनि, यहाँको सामाजिक र आर्थिक यथार्थ शताब्दीऔँदेखि अत्यन्तै निर्मम र कठोर थियो। यही कठोर धरातलमा जन्मेका हुन्, कालीबहादुर कामी। उहाँको बाल्यकाल र युवावस्था कुनै सामान्य जीवन थिएन, त्यो त हलिया प्रथाको अँध्यारो र अमानवीय सुरुङभित्र पिसिएको एउटा कारुणिक कथा थियो। तीन दशकभन्दा बढी समय मालिकको खेतबारीमा रगत र पसिना बगाउँदै आएको उहाँको परिवारका लागि ‘स्वतन्त्रता’ शब्द केवल एउटा एकादेशको कथा जस्तै थियो। तर, अपमानको एउटा तीतो क्षणले उहाँको भित्री चेतनालाई यसरी ब्युँझाइदियो कि उहाँले पुस्तौँदेखि चलेको दासताको साङ्लो मात्र तोड्नुभएन, स्नातकोत्तर (MA) सम्मको उच्च शिक्षा हासिल गरेर सिङ्गो समाजका लागि एउटा अभूतपूर्व प्रेरणा बन्नुभयो।

​नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम पहाडी भेगमा शताब्दीऔँदेखि कायम रहेको हलिया प्रथा केवल एउटा आर्थिक वा श्रमको सम्बन्ध मात्र थिएन; यो त एउटा अमानवीय र सामाजिक दमनको संरचनात्मक व्यवस्था थियो। साहु वा जमिनदारबाट लिएको सामान्य अन्न, थोरै ऋण वा पुस्तौँ अघिको सानो सापटको बापत उच्च ब्याज तिर्ने बहानामा विपन्न, गरिब तथा मुख्य गरी दलित समुदायलाई बाबु-आमा, छोरा-नातिसम्म हलिया बनाएर बाँध्ने कुप्रथा विद्यमान थियो।

​यस प्रथाअन्तर्गत हलियाहरूले आफ्नै जमिनदारको खेतमा जोत्ने, खाडल खन्ने, दाउरा काट्ने र घरायसी सबै काम गर्नुपर्थ्यो। बिहान झिसमिसेदेखि राति अबेरसम्म घाम, पानी, र जाडो नभनी काम गर्दा पनि उनीहरूले पेटभरि खान पाउँदैनथे। उनीहरूले पाउने ‘खलो’ (श्रमबापत पाइने थोरै अन्न) ले परिवारको दुई छाक टार्न पनि धौ-धौ पर्थ्यो। सबैभन्दा त्रासद पक्ष त के थियो भने, हलियाले बगाएको सम्पूर्ण श्रम र पसिना साहुको हिसाबकिताबको पानामा कहिल्यै सावाँ वा ब्याज घट्नमा दर्ता हुँदैनथ्यो। उल्टै, विभिन्न बहानामा ऋणको दायरा अझ फराकिलो बनाइन्थ्यो। यसरी, हलियाका सन्तानहरू जन्मँदै साहुका हलिया बन्न बाध्य हुन्थे।

​कालीबहादुर कामीको परिवार पनि यही अमानवीय चक्रव्युहमा फसेको थियो। उहाँका बाबु-आमा र जिजुबाबुहरूले आफ्नो सम्पूर्ण श्रम, ऊर्जा र जवानी साहुका गह्राहरूमा पोखेका थिए। तर परिणाम स्वरूप उनीहरूको भागमा परेको थियो, चरम अभाव, नाङ्गो शरीर, भोक र साहुको गालीबेइज्जती।

​अपमानको त्यो क्षण: हलो, जुवा र स्वाभिमानको द्वन्द्व

​कालीबहादुर कामी गाउँको विद्यालयमा कक्षा ९ मा पढ्दै हुनुहुन्थ्यो। एकातिर कापी-कलम समातेर उज्यालो भविष्य निर्माण गर्ने उहाँको तीव्र चाहना र चेतना थियो भने, अर्कातिर पुस्तौँदेखि काँधमा थोपरिएको हलियाको भारी।

​एक दिनको कुरा हो, उहाँ आफ्नै साहु (जसलाई स्थानीय भाषामा ‘लगिको नायक’ भनिन्थ्यो) को छोरासँगै उसको घरमा जानुभयो। साहुको घरमा खाना खाइसकेपछि दुवै जना साहुको विशाल खेत जोत्नका लागि हिँडे। साहुको छोरा र कालीबहादुर उमेरमा उस्तै र सँगै गएका भए पनि दुवैको हैसियत र सामाजिक परिचयको दूरी आकाश-पाताल जत्तिकै फरक थियो। साहुको छोरा ‘मालिक’ थियो भने कालीबहादुर केवल एउटा आदेश पालना गर्ने ‘हलि’।

​खेतमा पुगेर कालीबहादुरले हलो र जुवा समातेर जोत्न सुरु गर्नुभयो। हलो जोत्दै गर्दा अचानक साहुको गोरु तर्सिएर भाग्यो। चौपाया नियन्त्रणबाहिर जाँदा त्यसको दोष र सम्पूर्ण आक्रोश कलिलो उमेरका कालीबहादुरमाथि खनियो। मालिकको छोराले आफ्नो जातीय र आर्थिक अहङ्कार देखाउँदै अमानवीय र तुच्छ शब्द प्रहार गर्‍यो, “ए डुम, तेरो केही काम छैन।खाना खाइस् कि गु खाइस्?”

​ती शब्दहरू कुनै धारिलो हतियारभन्दा कम थिएनन्। ती शब्दले कालीबहादुरको स्वाभिमानमा गहिरो चोट पुर्‍यायो। आफ्नै समकक्षी र सहपाठी उमेरको मान्छेबाट आफ्नो जात र हैसियतका आधारमा पाएको त्यो अमानवीय अपमानले उहाँको मन भक्कानियो। छातीभित्र आँसुको भेल बग्यो, तर त्यो समाजमा हलियाको रोदन सुनिदिने कोही थिएन। दिनभरि मनभित्रै अपमानको ज्वाला बालेर, आँसु पिउँदै उहाँले खेत जोत्नुभयो। साँझ घर फर्किँदा उहाँको मनमा अब हलो र जुवासँगै पुस्तौँको दासता सधैँका लागि त्याग्ने सङ्कल्प अंकुरित भइसकेको थियो।

​बाबुसँगको हृदयविदारक संवाद र विद्रोहको घोषणा

​घर फर्केपछि कालीबहादुरले आफ्ना बाबुसँग आफ्नो मनको पीडा पोख्नुभयो र दृढ स्वरमा भन्नुभयो, “बा, म अब जोत्न सक्दिनँ। साहुको छोराले मलाई अमानवीय शब्दले अपमान गर्‍यो, मलाई डुम भनेर गाली गर्‍यो।”

​बाबुले छोराको पीडा नबुझेका होइनन्। तर वर्षौँदेखि साहुको ऋण, डर र समाजको थिचोमिचोमा बाँचेका उनका लागि विद्रोह गर्नु असम्भव जस्तै थियो। बाबुले गहभरि आँसु पार्दै सम्झाउने प्रयास गरे, “छोरा, हाम्रा तीन पुस्ताको रगत र पसिना यसैमा बगिसक्यो। तैंले यस्तो भनेर हुन्छ? हलिया काम नछोड छोरा, साहु रिसाए हामी कहाँ जाने? हाम्रो ओत लाग्ने ठाउँ खोसिन्छ, हामी भोकै मर्छौँ।”

​बाबुको विवशता र डर सुनेपछि कालीबहादुर चुपचाप हुनुभयो। उहाँ भुइँमा आमाले ओछ्याइदिएको पुरानो र च्यातिएको थाक्नो (पुराना कपडाको ओछ्यान) मा सुत्न जानुभयो। तर त्यो रात कालीबहादुरका लागि सुत्ने रात थिएन। उहाँ रातभरि छाप्रोको धुरीतिर हेर्दै सोचिरहनुभयो, के मेरो सम्पूर्ण जीवन यही हलो जोत्दै, अपमान सहँदै र साहुको गाली खाँदै बित्ने हो? के मेरा आउने सन्ततिले पनि यही नियति र दासता भोग्नुपर्ने हो?

​त्यही अँध्यारो रातमा उहाँको भित्री आत्माले एउटा ऐतिहासिक र साहसिक निर्णय गर्‍यो। भोलिपल्ट बिहानै उठेर उहाँले बाबुलाई दृढताका साथ भन्नुभयो, “बा, म अब यो हलिया काम कदापि गर्दिनँ। म गुठीचौरका पाखा र डाँडाहरू खनेर, ज्याला-मजदुरी गरेर पसिना बगाउँछु र खान्छु। तर यो अपमान सहेर बस्दिनँ। म पढेर यो समाजभित्र शिक्षित र सम्मानित मान्छे बनेर देखाउँछु।”

​सङ्घर्षको उकालो, शिक्षाको दीप र स्नातकोत्तरको यात्रा

​हलो छाडेपछिको यात्रा कालीबहादुरका लागि झन् कठोर र चुनौतीपूर्ण थियो। एकातिर साहुको दबाब र गाउँको सामाजिक बहिष्कारको धम्की, अर्कातिर चरम गरिबी र अन्नको अभाव। तर उहाँले आफ्नो निर्णयबाट पछाडि हट्नुभएन।

​गुठीचौरका विकट पाखाहरू खन्दै, ढुङ्गा-गिटी कुट्दै र भारी बोक्दै उहाँले आफ्नो पढाइलाई अगाडि बढाउनुभयो। कापी र कलम किन्ने पैसा नहुँदा पनि उहाँको अध्ययनप्रतिको तृष्णा कहिल्यै घटेन्। शिक्षा नै दमन, विभेद र हलिया प्रथाको अँध्यारोबाट मुक्ति पाउने एक मात्र अचुक हतियार हो भन्ने कुरा उहाँले राम्ररी बुझ्नुभएको थियो।

​अनेकौँ बाधा, अड्चन र अभावहरूलाई पन्छाउँदै उहाँले माध्यमिक तह (कक्षा १०) पूरा गर्नुभयो। त्यसपछि उच्च शिक्षाको यात्रा सुरु भयो। जुन समाजले उहाँलाई ‘हलि’, ‘दास’ र ‘अछूत’ भनेर थिचोमिचो गरेको थियो, त्यही समाजका अगाडि उहाँले मानविकी संकायमा स्नातकोत्तर (MA) सम्मको उच्च शिक्षा सफलतापूर्वक पूरा गरेर देखाउनुभयो। यो केवल एउटा शैक्षिक डिग्री मात्र थिएन, यो त शताब्दीऔँदेखिको जातीय र सामाजिक उत्पीडनमाथि चेतनाको विजय थियो।

​हलिया मुक्ति र कालीबहादुरको सङ्घर्षको ऐतिहासिक महत्त्व

​नेपाल सरकारले २०६५ साल भाद्र २१ गते हलिया प्रथाको औपचारिक रूपमा मुक्ति घोषणा गरेको थियो। तर सरकारी घोषणाभन्दा धेरै अघि कालीबहादुर कामीले आफ्नै जीवनमा हलिया प्रथा विरुद्ध व्यक्तिगत विद्रोह गरिसक्नुभएको थियो।

​यदि कालीबहादुरले त्यो दिन साहुको अपमान चुपचाप सहेर हलो नजोतेका भए, सायद उहाँको जीवन पनि आफ्ना बाबु-बाजे जस्तै हलियाकै रूपमा बित्ने थियो। उहाँको एउटा साहसिक निर्णयले सिङ्गो परिवार र आउने पुस्ताको भविष्य नै बदलियो।

​कालीबहादुर कामीको यो जीवनीले ​स्वाभिमान नै सबैभन्दा ठूलो सम्पत्ति हो: मानिस गरीब हुन सक्छ, तर स्वाभिमान गुमाएर बाँचेको जीवन वास्तविक जीवन हुन सक्दैन।

​ चेतना र शिक्षाबिना कुनै पनि किसिमको सामाजिक वा व्यक्तिगत मुक्ति सम्भव छैन।

​ समाज परिवर्तनको पर्खाइमा बस्नुभन्दा आफ्नै जीवनको कुप्रथा र अन्यायविरुद्ध आवाज उठाउनु नै साँचो परिवर्तन हो।

​आज जुम्ला र गुठीचौरको भूगोलमा कालीबहादुर कामीको नाम एउटा नयाँ पहिचान, स्वाभिमान र रूपान्तरणको प्रतीक बनेको छ। हलोको जुवा पन्छाएर कलम समात्ने उहाँको त्यो साहसिक निर्णयले के सिद्ध गरिदिएको छ भने, जन्म, जात वा आर्थिक हैसियतले मानिसको भविष्य तय गर्दैन; अदम्य इच्छाशक्ति, लगनशीलता र शिक्षाले जुनसुकै अँध्यारोलाई पनि उज्यालोमा बदल्न सक्छ। पुस्तौँदेखि दमन र हलिया प्रथाको साङ्लोमा बाँधिएकाहरूका लागि कालीबहादुरको यो सङ्घर्ष सधैँभरि एउटा प्रेरणाको दीप बनिरहनेछ।

लेखक राम प्रकाश बिक, 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय