Tuesday, August 25, 2026 | 11:57:26 AM

राम प्रकाश बिक ​जुम्ला । बालबालिकामा देखिने मनोसामाजिक समस्याको समयमै पहिचान गरी उचित परामर्श दिन कर्णाली प्रदेशका शिक्षकहरूका लागि जुम्लास्थित होटेल पौवामा ५ दिने ‘विद्यार्थी मनोपरामर्श तालिम’ सम्पन्न भएको छ।

​सीबीएम ग्लोबलको आर्थिक सहयोग, सीएमसी नेपालको आयोजना तथा सम्बन्धित पालिकाहरूको समन्वयमा संचालित कर्णाली मानसिक स्वास्थ्य परियोजनाअन्तर्गत यो तालिम आयोजना गरिएको हो। तालिममा परियोजना लागू भएका जुम्लाका तीन पालिका-चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र सिञ्जा गाउँपालिकाका छानिएका विद्यालयबाट प्रतिविद्यालय १ शिक्षक र १ शिक्षिका गरी कुल २० जनाको सहभागिता रहेको थियो।

​विद्यालय वातावरणलाई मानसिक रूपमा सुरक्षित र बालमैत्री बनाउने मुख्य उद्देश्यले आयोजित उक्त तालिममा सहभागीहरूलाई मनोसामाजिक परामर्शको आधारभूत अवधारणा, विद्यार्थीमा देखिन सक्ने समस्याको पहिचान, परामर्श सीप र जटिल अवस्थामा गरिने ‘रिफरल’ (थप उपचारका लागि सिफारिश) प्रक्रियाबारे व्यावहारिक ज्ञान दिइएको छ।

​तालिमका सहजकर्ता एवं विद्यालय मानसिक स्वास्थ्य अधिकृत टंक तिमिल्सिनाका अनुसार पछिल्लो समय बालबालिकामा पढाइको तनाव, पारिवारिक समस्या र वातावरणीय प्रभावका कारण मानसिक तथा मनोसामाजिक समस्या बढ्दै गएको छ।

​”धेरैजसो बालबालिका आफ्ना समस्या खुलेर भन्न सक्दैनन्, जसका कारण उनीहरूको पढाइ र व्यवहारमा परिवर्तन देखिन्छ,” अधिकृत तिमिल्सिनाले भने, “शिक्षकहरू बालबालिकासँग दिनहुँ नजिक हुने भएकाले उहाँहरूले सामान्य लक्षण देखिनेबित्तिकै पहिचान गरी प्राथमिक परामर्श दिन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यसले समस्या जटिल बन्नुअघि नै समाधान गर्न ठूलो मद्दत पुग्छ।”

​तालिमका अर्का सहजकर्ता मनोसामाजिक अधिकृत कालीबहादुर बिकले विद्यालय स्तरमा मनोपरामर्शको पहुँच पुर्‍याउनु अहिलको आवश्यकता रहेको बताए।

​”कतिपय अवस्थामा बालबालिकालाई कडा वा जटिल प्रकारको मनोसामाजिक समस्या हुन सक्छ, जसलाई सामान्य परामर्शले मात्र पुग्दैन,” अधिकृत बिकले जोड दिँदै भने, “यो तालिमपछि शिक्षकहरूले त्यस्ता जटिल समस्या भएका बालबालिकालाई तत्काल पहिचान गरी विशेषज्ञ वा सम्बन्धित स्वास्थ्य संस्थामा सुरक्षित रूपमा ‘रिफर’ गर्न सक्षम हुनुभएको छ। यसले सम्भावित ठूलो जोखिमबाट बालबालिकालाई बचाउन सकिन्छ।”

​कार्यक्रममा आफ्नो धारणा राख्दै मनो परामर्शकर्ता विष्णुमणिले बालबालिकाको सर्वाङ्गीण विकासका लागि मानसिक स्वास्थ्यको भूमिका महत्त्वपूर्ण हुने बताए।

​”हामी प्रायः बालबालिकाको शारीरिक स्वास्थ्य र अङ्क ल्याउने पढाइमा मात्र ध्यान दिन्छौँ, तर उनीहरूको भित्री मानसिक अवस्था कस्तो छ भन्ने कुरा ओझेलमा पर्छ,” परामर्शकर्ता विष्णुमणिले भने, “यदि कक्षाकोठामै सकारात्मक, सहानुभूतिपूर्ण र सुरक्षाको वातावरण बन्न सक्यो भने बालबालिकाले आफ्ना पीडा र तनाव सजिलै पोख्न सक्छन्। यो तालिमले शिक्षकहरूलाई केवल अध्यापन गराउने व्यक्ति मात्र नभई विद्यार्थीको भावना बुझ्ने र अभिभावकत्व दिने कुशल मनोपरामर्शदाताका रूपमा तयार गर्न मद्दत पुर्‍याएको छ।”

मनोसामाजिक परामर्शको सही अवधारणा र महत्त्व बुझ्न मद्दत पुगेको।

​ विद्यार्थीहरूमा देखिने व्यवहारिक, भावनात्मक र मनोसामाजिक समस्याहरू सुरुवाती चरणमै चिन्न सक्ने भएको।

​ कक्षाकोठामै प्रयोग गर्न सकिने आधारभूत मनोपरामर्श, संवाद सीप र भावनात्मक सहयोगको क्षमता अभिवृद्धि भएको।

​ जटिल प्रकारका मानसिक समस्या भएका बालबालिकालाई थप उपचारका लागि उपर्युक्त निकायमा सिफारिश गर्न सक्ने क्षमता विकास भएको।

​तालिमपछि सहभागी शिक्षकहरूले कक्षाकोठामा अब विषयवस्तु पढाउनुका साथै विद्यार्थीको मानसिक स्वास्थ्य र भावनालाई पनि उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाएका छन्। परियोजनाले आगामी दिनमा पनि विद्यालय स्तरमा मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय