जुम्ला, साउन ९ गते। वातावरण संरक्षण र स्वच्छ शहर निर्माणको सन्देश दिँदै जुम्लाको सदरमुकाम स्थित खलंगा बजारमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ। ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्ला प्रशासन कार्यालय, जुम्लाको आयोजनामा शनिबार बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म उक्त अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्ला, सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जुम्ला र चन्दननाथ नगरपालिकाको संयुक्त सहकार्य रहेको थियो। चन्दननाथ नगरपालिकाका वडा नं. २, ४, ५ र ६ का विभिन्न बजार तथा सार्वजनिक स्थानहरू समेटेर सरसफाई अभियान चलाइएको थियो।



प्रमुख जिल्ला अधिकारी श्री तेज प्रकाश प्रसाईज्यूको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) श्री चिरञ्जीवी दाहाल, विभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय भद्रभलादमी, बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।
“हाम्रो वरपरको वातावरण स्वच्छ र सफा राख्नु हामी सबैको नागरिक कर्तव्य हो। प्रहरी र प्रशासनको पहलमा समुदायलाई जोडेर गरिएको यो अभियानले बजार क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै नागरिकमा सरसफाई सम्बन्धी जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। आगामी दिनमा पनि यस्ता सकारात्मक र रचनात्मक कार्यलाई निरन्तरता दिइनेछ।”
उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब तथा सर्वसाधारण गरी जम्मा १२५ जनाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले हातमा कुचो, बेल्चा र बोरा बोकेर बजारका सडक, गल्ली तथा सार्वजनिक क्षेत्रमा थुप्रिएका फोहोर संकलन र व्यवस्थापन गरेका थिए।
प्रशासन र सुरक्षा निकायसँगै स्थानीय समुदायको यो संयुक्त प्रयासले खलंगा बजारमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।



