जुम्ला फागुन ८ गते । फागुन ७ गते देशभर ७६औँ प्रजातन्त्र दिवसको औपचारिक समारोह भइरहँदा जुम्लाको सिँजा गाउँपालिका–६, जोडु गाउँमा भने एउटा भिन्नै र मौलिक दृश्य देखियो। यहाँका स्थानीयले प्रजातन्त्र दिवसलाई केवल सरकारी औपचारिकतमा मात्र सीमित राखेनन्, बरु यसलाई माटो र खेतीपातीसँग जोडेर पुस्तौँदेखिको ‘कोइरा पर्व’ का रूपमा धुमधामका साथ मनाए।
जोडु गाउँका २ सय १५ घरधुरीका लागि फागुन ७ गते केवल राजनीतिक परिवर्तनको दिन मात्र होइन, यो नयाँ खेतीपातीको शुभसाइत पनि हो। वसन्त ऋतुको आगमनको संकेत मानिने यस दिन यहाँका किसानहरूले वर्षभरिको उब्जनी राम्रो होस् भन्ने कामना गर्दै बारीमा कोइरा र चोताको बीउ रोप्ने गर्छन्। वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार, यो दिनलाई देवीदेवताले प्रदान गरेको शुभसाइत मानिन्छ। जुम्लाका ६० वडाहरूमध्ये सिँजा–६ मा मात्रै यो विशेष परम्परा जीवित छ।
कोइरा पर्व मनाउने शैली निकै रोचक र संस्कारयुक्त छ। स्थानीय नरबहादुरका अनुसार पुरानो तामाको बटुकोमा अविवाहित युवतीले धाराबाट ल्याएको शुद्ध पानी प्रयोग गरी दही, चामल र बेसारको पहेँलो टीका लगाइन्छ। दिउँसो १ बजेदेखि साढे २ बजेको शुभ समयमा बारीमा कम्तीमा पाँच–पाँच वटा कोइरा र चोताको बीउ रोपिन्छ। बीउलाई सल्लाको पिरल (सोतर) ले छोपेर सुरक्षित पारिन्छ।
कोइरा रोप्ने दिन हल्का हिउँ पर्नुपर्छ भन्ने जनविश्वास छ। यसले बाली सप्रिने आशा जगाउँछ। कोइरा पर्वले परदेश गएकाहरूलाई घर फर्काउने र छोरीचेलीलाई माइतीको आँगनमा जोड्ने काम गर्छ। कामको सिलसिलामा कालापहाड (भारत) गएकाहरू पनि प्रायः यसै दिन गाउँ आइपुग्छन्।



खानपानका हिसाबले पनि यो पर्व विशिष्ट छ। यस दिन घरघरमा तेलमा पकाएको पुरी र जिगुराको तरकारी खाने चलन छ। कोइरा र चोताबाट चाना, असुरो र रुम्ला जस्ता परिकार बनाइन्छ। विशेषगरी ’असुरो’ लाई मार्सी चामल र खुर्सानीसँग साट्ने (वस्तु विनिमय) पुरानो चलन अझै पनि कायमै छ। स्थानीय ६६ वर्षीया बाचुँ बुढा भन्छिन्, “यो दिन छोरीबेटी माइती आउँछन्, हाँसीमजाक हुन्छ र स्वास्थ्यका लागि हितकर कोइरा–चोताको विशेष परिकार खाइन्छ।“
प्रजातन्त्रको उज्यालोसँगै आफ्नो पुख्र्यौली पहिचानलाई जोगाइराख्ने जोडु गाउँको यो अभ्यास आफैँमा अनुकरणीय छ। एकातिर आधुनिकताले पुराना संस्कृति बिर्सिँदै गएको समयमा, जोडु गाउँले भने फागुन ७ लाई माटोको सुगन्ध र स्थानीय उत्पादनको उत्सवका रूपमा जीवन्त राखेको छ।



