Wednesday, August 26, 2026 | 10:00:32 PM

राम प्रकाश वि.क, जुम्ला । मंसिर १८ गते । “अँध्यारो हट्यो, उज्यालो आयो, जीवन सजिलो भयो।“ जुम्लाको पातारासी गाउँपालिका–१, गडिगाउँका स्थानीय हरिबहादुर बोहोराका लागि यो भनाइ केवल शब्द होइन, बदलिएको जीवनको अनुभूति हो। पहिले बिहानको पहिलो किरणसम्म पनि अँध्यारोमा डुबेको गडिगाउँमा अब ’सहरीकरण जस्तो’ उज्यालो छाएको छ।
सल्लाको दियालो र टुकी बालेर पढ्ने बालबालिका, घरायसी काम गर्ने महिला र पाटपानीको तयारी गर्ने किसानहरूको दैनिकीमा अब ठूलो परिवर्तन आएको छ। हरिबहादुर बोहोरा भन्छन्, “अँध्यारोमा जीवन ढिलो चल्थ्यो, तर अहिले बत्ती आएपछि सबै काम सजिलो भएको छ। बच्चाहरू टुकी बालेर पढ्न बाध्य छैनन्।“

स्थानीय चुकेनी खोलाबाट उत्पादित झन्डै एक मेगावाट (९९८ किलोवाट) बिजुलीले आज जुम्ला सदरमुकाम खलंगासहित करिब ७ हजार ५ सय घरधुरीमा उज्यालो पु¥याएको छ। यसले जुम्लाको लोडसेडिङको इतिहास (दैनिक १८ घन्टासम्म)लाई बिर्साइदिएको छ।
जयबहादुर ऐडीको भनाइमा, यो बिजुलीले जीवनलाई गतिशील बनाएको छ। गाउँहरूमा कुटानी–पिसानी मिल, काठ च्यात्ने मेसिन र तेल पेल्ने यन्त्रजस्ता साना उद्योगहरू सञ्चालनमा आएका छन्। यसले व्यावसायिक जीवनमा नयाँ ऊर्जा दिएको छ।
रामबहादुर ऐडीले बिजुलीको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको बताए। “पहिले बिरामीलाई अँध्यारोमा ल्याउन गाह्रो हुन्थ्यो। अहिले स्वास्थ्यचौकी, घर र सडक उज्यालो भएका छन्। यो मात्र बिजुली होइन, जीवन नै बदलिएको अनुभूति हो,“ उनले आफ्नो अनुभव सुनाए।
हाल पातारासीका अधिकांश घर, विद्यालयमा कम्प्युटर चल्छन्, स्वास्थ्यचौकी, होटल, साना उद्योग र लिफ्ट सिँचाइसम्म गुणस्तरीय बिजुली पुगेको छ। गडिगाउँका वृद्धहरू पहिले उज्यालो देख्न शहर जानुपर्ने सम्झँदै भन्छन्, “आज हाम्रो गाउँ नै शहरझैँ चम्किएको छ।“

४५ करोड २८ लाख रुपैयाँ लागतमा बनेको यो आयोजनाले सामाजिक परिवर्तनसँगै आर्थिक आत्मनिर्भरताको ढोका पनि खोलेको छ। चुकेनी जलविद्युत सहकारी संस्थाले मासिक ७ देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। गाउँपालिकाका ३ हजार ३ सय नागरिकले यस आयोजनामा सेयर लगानी गरेका छन्। चुकेनी जलविद्युत सहकारीका अध्यक्ष गोरबहादुर बुढाले भने, “हामीले केवल बिजुली वितरण मात्रै होइन, आर्थिक र सामाजिक विकासको ढोका पनि खोल्न खोजेका छौं।“ चुकेनी जलविद्युत आज पातारासी र वरिपरिका गाउँहरूमा केवल बिजुलीको स्रोत नभएर सकारात्मक परिवर्तन र सम्भावनाको आधार, विकासको शक्ति र आत्मनिर्भरताको प्रतीक बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय