जुम्ला । कर्णाली प्रदेश सरकारले आज जुम्ला जिल्लाभर सार्वजनिक बिदा दिएको छ। जुम्लाको प्रसिद्ध एवम् ऐतिहासिक धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा आज लिङ्गो तान्ने विशेष कार्यक्रम रहेकाले जिल्लाभर बिदा दिइएको हो।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन मन्दिरको वार्षिक स्थापना दिवसको अवसरमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने मौलिक परम्परा रहिआएको छ। यसै परम्परा र जुम्ली संस्कृतिको सम्मान गर्दै बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभएको छ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार आज बिहानैदेखि चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा नयाँ लिङ्गो ठड्याउन सर्वसाधारण, भद्रभलादमी तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। जुम्लाबासीले यस दिनलाई विशेष सांस्कृतिक पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने गर्दछन्।






