Sunday, November 8, 2026

​जुम्ला। जुम्ला जिल्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक ‘भाले कुकुर बन्ध्याकरण तथा निःशुल्क रेबिज विरुद्धको भ्याक्सिन’ कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ। विश्व रेबिज दिवस २०२६ (World Rabies Day 2026) को अवसर पारेर गुठीचौर गाउँपालिका पशु सेवा शाखाको आयोजनामा यो ऐतिहासिक अभियान सुरु गरिएको हो।

​अभियानको पहिलो दिन आज एक सामुदायिक कुकुरको सफल बन्ध्याकरण गरी कार्यक्रमको भव्य उद्घाटन गरिएको छ।  “स्वस्थ पशु,, सुरक्षित परिवार,, स्वस्थ समाज” भन्ने मूल नाराका साथ सञ्चालित यो कार्यक्रम असोज १६ गतेदेखि २२ गतेसम्म (वडा नं. १ देखि ५ सम्म) सञ्चालन हुनेछ।

​

​गुठीचौर गाउँपालिका पशु सेवा शाखा प्रमुख डा. सुशील शर्माका अनुसार चालू आर्थिक वर्षभित्र सामुदायिक र घरपालुवा गरी जम्मा १० वटा कुकुरको बन्ध्याकरण गराउने लक्ष्य राखिएको छ। जसमध्ये २ वटा सामुदायिक (छाडा) कुकुर र ८ वटा घरपालुवा कुकुर रहेका छन्।

​कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्दै डा. सुशील शर्माले भन्नुभयो,​”गाउँघरमा छाडा तथा सामुदायिक कुकुरहरूको संख्या वृद्धि हुँदै जाँदा टोक्ने जोखिम र रेबिजजस्ता घातक रोग फैलने सम्भावना उच्च रहन्छ। यसैलाई मध्यनजर गर्दै कुकुरको संख्या नियन्त्रण गर्न र रेबिज रोग उन्मूलन गर्ने उद्देश्यले गाउँपालिकाले पहिलोपटक यो कार्यक्रम सञ्चालन गरेको हो। यसले पशु स्वास्थ्यका साथै मानव स्वास्थ्य सुरक्षामा ठूलो सहयोग पुर्‍याउनेछ।”

​पातारासी गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु चिकित्सक तथा विषयविज्ञ डा. लक्ष्मण भट्टले ​”कुकुर बन्ध्याकरण केवल संख्या नियन्त्रण गर्ने माध्यम मात्र होइन, यसका धेरै प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाहरू छन् उहाँले भन्नुभयो, अनियन्त्रित रूपमा कुकुरको संख्या बढ्न नपाई समुदाय सुरक्षित रहन्छ। भाले कुकुरहरूको बन्ध्याकरणपछि तिनीहरूको जुध्ने र आक्रामक हुने स्वभावमा प्राकृतिक रूपमै कमी आउँछ। रेबिज भ्याक्सिन र बन्ध्याकरणले सामूहिक प्रतिरक्षा (Herd Immunity) बढाउँछ, जसले गर्दा रेबिजजस्ता प्राणघातक सरुवा रोग समाजमा फैलिन पाउँदैन।

​ यो अभियानले समुदायलाई थप सुरक्षित, स्वच्छ र पशुमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

 

​उद्घाटन कार्यक्रममा बोल्दै गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले गाउँपालिका पशु सेवा क्षेत्रको सुधार र नागरिकको सुरक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो,​”जुम्लामै पहिलोपटक हाम्रो गुठीचौर गाउँपालिकामा यस प्रकारको आधुनिक र वैज्ञानिक स्वास्थ्य अभियान सुरु हुनु खुसीको कुरा हो। छाडा कुकुरका कारण सर्वसाधारण र बालबालिकाहरूमा रहने डर-त्रास अन्त्य गर्न यो अभियान कोसेढुङ्गा साबित हुनेछ। आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य र पशु कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।”

 

​यस अभियानलाई सफल बनाउन गुठीचौर गाउँपालिका पशु सेवा शाखामा कार्यरत अन्य प्राविधिक तथा कर्मचारीहरूले पनि सक्रियताका साथ सहयोग गरिरहनुभएको छ। दक्ष पशु चिकित्सक टोलीद्वारा सुरक्षित रूपमा शल्यक्रिया तथा खोप कार्यक्रम सञ्चालन भइरहेको छ।

​सबै साथसाथै (Stronger Together)” भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात् गर्दै गुठीचौर गाउँपालिकाले “रेबिजबाट बचाऔँ, सुरक्षित बनाऔँ” भन्ने सन्देशका साथ यो अभियानलाई वडा-वडासम्म पुर्‍याउने लक्ष्य लिएको छ।