असोज ८, जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ५ स्थित उच्च हिमाली पाटन ‘नौमुली’ मा भेडा चराउने क्रममा चट्याङ पर्दा एक जना भेडापालक किसान गम्भीर घाइते हुनुभएको छ।
गुठीचौर गाउँपालिका–५ घुम्डीगाउँ निवासी ४८ वर्षीय माया भण्डारी मङ्गलबार पाटनमा भेडा चराइरहेको अवस्थामा परेको चट्याङ लागेर गम्भीर घाइते हुनुभएको हो। घाइते भण्डारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
घाइतेका साइँला भाइ केसी भण्डारीका अनुसार चट्याङका कारण उहाँको शरीरको ठूलो भाग जलेर क्षतविक्षत भएको छ। “दायाँपट्टिको टाउकोबाट सुरु भएको चोट बायाँपट्टिको खुट्टासम्म पुगेको छ। मेरुदण्ड, छाती, बायाँ खुट्टा र प्रजनन क्षेत्र (अण्डाकोष) लगायतका संवेदनशील भागहरू गम्भीर रूपमा जलेका छन्,” भाइ भण्डारीले भावुक हुँदै भन्नुभयो। उहाँका अनुसार प्राथमिक उपचारपछि पनि स्वास्थ्य स्थिति जोखिममुक्त हुन सकेको छैन।
हवाई उद्धारका लागि गृह मन्त्रालयमा सिफारिस पत्र
भौगोलिक विकटता र बिरामीको नाजुक अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल ‘हवाई उद्धार’ (Air Rescue) का लागि गृह मन्त्रालयअन्तर्गतको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति / विपत् व्यवस्थापन महाशाखा मा औपचारिक ‘सहानुभूति तथा आपत्कालीन हवाई उद्धार सिफारिस पत्र’ पठाएको छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पसाईले बिरामीलाई यथाशीघ्र सुविधासम्पन्न अस्पताल पुर्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रम वा गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषमार्फत नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गर्न मन्त्रालयमा सिफारिस पत्र पठाइएको जानकारी दिनुभयो।
“बिरामीको अवस्था निकै चिन्ताजनक भएकाले स्थानीयस्तरको उपचारले मात्र सम्भव देखिएन। हामीले गृह मन्त्रालयमा आवश्यक प्रक्रिया पूरा गरी शीघ्र हवाई उद्धारका लागि सिफारिस पत्र पठाइसकेका छौँ, आफन्तहरूसँग पनि निरन्तर समन्वय भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी पसाईले भन्नुभयो।
अहिले घाइतेलाई काठमाडौँ लैजानका लागि हवाई साधनको पर्खाइमा राखिएको छ भने आफन्त तथा स्थानीयवासीले शीघ्र उद्धार गरी ज्यान बचाइदिन सरकारसँग अपिल गरेका छन्।






