Sunday, November 8, 2026

गुठिचौर (जुम्ला) । ‘संगठन सुदृढीकरण, आन्तरिक एकता र निरन्तरता’ भन्ने मूल मर्मका साथ नेपाली कांग्रेस गुठिचौर गाउँपालिका कार्यसमितिको दोस्रो पालिका अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। जुम्लाको गुठिचौरमा २०० भन्दा बढी उत्साहित नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनले टेकबहादुर भण्डारीको नेतृत्वमा २१ सदस्यीय नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। भण्डारी लगातार तेस्रो पटक गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।

​

oppo_0

​कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि श्रीकृष्ण कामीले नवनिर्वाचित टोलीलाई बधाई दिँदै गाउँस्तरबाटै पार्टीलाई अनुशासित, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

​लगातार तेस्रो पटक नेतृत्व सम्हाल्ने अवसर पाउनु कार्यकर्ताको अपार विश्वासको प्रतिफल भएको उल्लेख गर्दै कामीले भन्नुभयो, “नेपाली कांग्रेस सधैँ देश दुःख, संकट र संघर्षमा परेका बेला अग्रपंक्तिमा रहेर निःस्वार्थ सेवा भावका साथ उभिने पार्टी हो। आज केही राजनीतिक दलहरूले दलित, जनजाति र समावेशीताका प्राप्त उपलब्धिहरूलाई संविधानबाटै हटाउने वा कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन्। समावेशी लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरू एकढिक्का भएर वैचारिक लडाइँमा होमिनुपर्ने आवश्यकता छ।” उहाँले सबै पक्षलाई समेटेर गुठिचौरमा कांग्रेसलाई पहिलो शक्ति बनाउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो।

​

​पुनः सभापतिमा निर्वाचित भएपछि नवनिर्वाचित सभापति टेकबहादुर भण्डारीले आफूमाथि निरन्तर भरोसा गरेकोमा सम्पूर्ण प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूप्रति गहिरो आभार व्यक्त गर्नुभयो।

​आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भण्डारीले भन्नुभयो, “कार्यकर्ता साथीहरूले मप्रति देखाउनुभएको यो निरन्तरको अगाध विश्वास र भरोसा नै मेरो राजनीतिक जीवनको ऊर्जाको मुख्य स्रोत हो। यो पद मेरा लागि अधिकार मात्र होइन, ठूलो जिम्मेवारी र कर्तव्य पनि हो। गुठिचौरमा नेपाली कांग्रेसलाई अझ सुदृढ, संगठित र लोकप्रिय बनाउनुका साथै स्थानीय जनताको सुख-दुःख, विकास निर्माण र अधिकारका पक्षमा म अहोरात्र खटिनेछु। हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँको विकास र पार्टीको गरिमा बढाउन संयुक्त रूपमा अघि बढ्नेछौँ।”

​अधिवेशनमा सम्बोधन गर्दै नेपाली कांग्रेस जुम्लाका जिल्ला सचिव एवं गुठिचौर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अर्जुनकुमार महतराले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई दिँदै भन्नुभयो, “नयाँ नेतृत्वले गुठिचौर कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। संगठनलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन वडास्तरबाटै हामी पूर्ण सहयोग र सहकार्य गर्नेछौँ।”

​त्यस्तै, नेपाली कांग्रेसका नेता मेघराज गिरीले पार्टीप्रति आफ्नो निष्ठा दोहोर्‍याउँदै भन्नुभयो, “म विगतदेखि नै पार्टीको सिद्धान्त र निष्ठामा कटिबद्ध भएर लाग्दै आएको छु र आगामी दिनमा पनि एक वफादार सिपाहीका रूपमा संगठन निर्माणमा अहोरात्र खटिरहनेछु।”

​गुठिचौर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा कांग्रेस नेता टिकादत्त न्यौपानेले कांग्रेसको ऐतिहासिक योगदानको स्मरण गराउँदै भन्नुभयो, “नेपाली कांग्रेस नेपाली समाज र लोकतन्त्रको वास्तविक पहरेदार हो। आगामी दिनमा आपसी एकता, सहकार्य र बलियो समन्वयका साथ संगठन निर्माणमा जुट्न सके मात्र लोकतन्त्र र जनताको अधिकार सुरक्षित हुन सक्छ।”

​विभिन्न वडाहरूबाट आएका प्रतिनिधिहरूको बाक्लो उपस्थिति, उत्साहजनक सहभागिता र आपसी एकताको सन्देश दिँदै अधिवेशन नयाँ ऊर्जा र संकल्पका साथ सम्पन्न भएको छ।