मुगु, साउन ९ गते । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहानै खसेको भीषण पहिरोले घर पुरिँदा एक तीन वर्षीय बालकको दुःखद निधन भएको छ। घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख एवम् प्रहरी नायवx. उपरीक्षक (DSP) रबिराज थपलियाका अनुसार शुक्रबार बिहान करिब ४:०० बजे पुलु बजारस्थित पेमा लामाको घरमाथि माथिबाट ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेको थियो।



उक्त घरमा छायाँनाथ रारा नगरपालिका–१३ तिर्प घर भई भाडामा होटल व्यवसाय सञ्चालन गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेका थिए। सुतिरहेकै अवस्थामा एक्कासी खसेको पहिरोले घर पूरै पुरेको थियो।
प्रहरी र स्थानीयको संयुक्त टोलीद्वारा तत्काल उद्धार
घटनास्थल नजिकै (करिब ३०० मिटर पूर्व) रहेको प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक (SI) वीरबहादुर चन्दको कमाण्डमा ५ जनाको प्रहरी टोली र स्थानीयवासी तत्काल उद्धारमा खटिएका थिए।
पहिरोको जगबाट च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाललाई उद्धार गरी तत्कालै उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याइएको थियो। प्रारम्भिक चरणमा बालकको अवस्था मध्यम रहेको भए पनि चोट गम्भीर भएका कारण उपचारकै क्रममा बिहान करिब ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उता, घाइते भएका बालकका बुबा जगनाथ र आमा सृजना सामान्य चोटपटकसहित आफैं पुलु स्वास्थ्य चौकी पुगेका थिए। उनीहरूको अवस्था हाल सामान्य रहेको र स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पहिरोले होटल सञ्चालन गरिएको पेमा लामाको घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। लगातारको जोखिमका कारण घटनास्थल आसपासका अन्य ८ वटा घरहरू पहिरोको उच्च जोखिममा परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाका अनुसार थप मानवीय र भौतिक क्षति हुन नदिन जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विस्थापित अधिकांश स्थानीयलाई पुलु बजारस्थित आफन्तको घरमा राखिएको छ भने ७/८ जनालाई पुलु स्वास्थ्य चौकीको भवनमा अस्थायी आश्रयको व्यवस्था मिलाइएको छ।
प्रहरीले घटनास्थल वरपर सुरक्षा सतर्कता बढाएको छ भने घटनाको थप विवरण संकलन गर्ने र क्षति मूल्याङ्कन गर्ने कार्य भइरहेको जानकारी दिएको छ।



