राम प्रकाश बिक, जुम्ला, ३ साउन । कर्णालीका सडकको वास्तविक अवस्था कस्तो छ? यो सिंहदरबार वा वीरेन्द्रनगरका वातानुकूलित कोठामा बसेर बनाइने कागजी प्रतिवेदनबाट होइन, हिलो र पहिरोको सास्ती आफैँ भोगेमात्र थाहा हुन्छ। यही उद्देश्यका साथ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल यतिबेला वर्षात्को भेलसँगै कर्णालीका सडकको स्थलगत अनुगमनमा निस्किएका छन्।
बर्खाका कारण खसेका पहिरो, हिलाम्मे सडक र निरन्तरको अवरोध छिचोल्दै मन्त्री लम्साल आइतबार जुम्ला आइपुगे। उनले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक र डोल्पा जोड्ने सडकको स्थलगत अनुगमन गर्दै सडक निर्माणको कछुवा गति, बजेट कार्यान्वयनको अवस्था, स्थानीयका सास्ती र वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाहरूको प्रत्यक्ष “पोस्टमार्टम” गरे।



गुठिचौर पाटनमा गोठालासँग मन्त्रीको संवाद
अनुगमनका क्रममा पर्यटकीय क्षेत्र जुम्लाको गुठिचौर पाटन पुगेका मन्त्री लम्सालले त्यहाँ रैथाने गोठालाहरूसँग भेटघाट गरे। अचेल हजारौँ पर्यटकको रोजाइमा पर्ने गरेको गुठिचौर पाटनसम्म पुग्ने सडक पक्की बनाइदिन गोठालाहरूले मन्त्रीसँगै गुहार मागे।
गोठालाहरूको माग सुनेपछि मन्त्री लम्सालले आवश्यक पहल गर्ने आश्वासन दिँदै भने,”गुठिचौरलाई व्यवस्थित पूर्वाधारसँग जोड्न सके यो कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ। हामीले पर्यटन र पूर्वाधारलाई परिपूरकका रूपमा सँगसँगै अघि बढाउनुपर्छ।”
’बर्खामै आइयो, एकदम ठिक भयो’
जुम्लामा वर्षौंदेखि अलपत्र परेका भौतिक संरचनाको अवलोकन गरेपछि मन्त्री लम्सालले कर्णालीका सबै जिल्लाको वास्तविक चुनौती बुझ्न आफू मन्त्रालय छोडेर सडकमा आएको स्पष्ट पारे।
”कर्णालीका सबै सडकमा बजेट त हालिएको छ, तर हामीले हालेको बजेट पुग्यो कि पुगेन, बजेट थप गर्नुपर्छ कि पर्दैन भनेरै म यहाँ आएको हुँ,” मन्त्री लम्सालले थपे, “बर्खामै यात्रा गरियो, एकदम ठिक भयो। सडक हेर्दै कर्णालीको वास्तविक सास्ती भोगेर आइपुगेको छु। अब आगामी वर्षका लागि योजना तर्जुमा गर्न मलाई धेरै सहज हुनेछ।”
मन्त्रीको यो अनुगमन टोलीमा सांसद रमेशकुमार सापकोटा र सुशान्त वैदिकसमेत सहभागी छन्। जुम्लामा रहँदा मन्त्रीले मातहतका कार्यालयको अवस्था हेर्नुका साथै सेवाग्राहीका गुनासासमेत सुनेका थिए।
खारेज भएको संघीय खानेपानी कार्यालय पुन: स्थापना हुने
जुम्लाबासीका लागि मन्त्री लम्सालले अर्को एउटा सुखद खबर पनि सुनाए। २०८१ चैत ११ गतेको निर्णयअनुसार २०८२ साउन १ गतेदेखि खारेज भइसकेको संघीय खानेपानी कार्यालय पुनः स्थापना गरिने उनले प्रतिबद्धता जनाए। जुम्ला, कालीकोट, मुगु र हुम्ला कार्यक्षेत्र रहेको यो कार्यालय खारेज हुँदा यस क्षेत्रका नागरिक खानेपानीको पहुँचबाट थप टाढा हुने जोखिम थियो। मन्त्री लम्सालले भने, “संघीय खानेपानी कार्यालय आइसक्यो, अब केही दिनमै काम सुरु हुन्छ।”
स्याउको माला लगाएर स्थानीयले सोधे “कहिले बन्छ दुई लेनको पक्की सडक”
जुम्लाका स्थानीयवासीले कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै मन्त्री लम्साललाई जुम्लाको प्रख्यात स्याउको माला लगाएर स्वागत गरे। तर, यो स्वागतभित्र ठुलो पीडा लुकेको थियो।
चन्द्रनाथ नगरपालिका वडा नम्बर ४ का बालाराम नेपालीले वर्षायाममा निरन्तर पहिरो जाँदा राजमार्ग पटक–पटक अवरुद्ध हुने र त्यसले जुम्लाको मुख्य नगदे बाली स्याउ बजार पुर्याउन नपाएरै कुहिने गरेको भन्दै उनीहरूले तत्काल दुई लेनको पक्की सडक निर्माण गर्न आग्रह गरे।
”वर्षायाममा पहिरो र हिउँदमा धुलोका कारण हामीले वर्षौंदेखि सास्ती खेप्दै आएका छौँ। यही दुरावस्थाका कारण कर्णाली राजमार्गलाई लामो समयदेखि ‘मृत्युमार्ग’ भन्नुपर्ने बाध्यता छ।”
तीन वर्षभित्र ‘डबल लेन’ बनाउने घोषणाको परीक्षा
गत असार ४ गते प्रतिनिधिसभामा मन्त्री लम्सालले तीन वर्षभित्र कर्णालीका मुख्य सडकलाई डबल लेन मा विस्तार गर्ने र टालटुले मर्मत छोडेर नियमित मर्मत प्रणाली लागू गर्ने घोषणा गरेका थिए। सोही घोषणाको कार्यान्वयनको अवस्था जाँच्न उनी सुर्खेतदेखि हुम्लासम्मको स्थलगत दौडाहामा निस्किएका हुन्।
कर्णाली राजमार्ग (२३२ किमी) यसमध्ये १३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेत र १०० किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ।
नाग्म–गमगढी सडक (९३ किमी) नाग्मदेखि मुगुको सदरमुकाम गमगढीसम्मको यो खण्डमा हाल नियमित सवारी सञ्चालन भइरहेको छ।
गमगढीदेखि नाक्चेनाग्लासम्मको प्रस्तावित ९३ किमी सडकमध्ये १८ किमीको ट्र्याक खुलिसकेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर प्रदीप नारायण चौधरीका अनुसार सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण प्रक्रियालाई तीव्रता दिने प्रयास भइरहेको छ।
आइतबार कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेपछि मन्त्री लम्साल मुगुतर्फ प्रस्थान गरेका छन्। सुर्खेत–दैलेख–कालीकोट हुँदै सुरु भएको उनको यो यात्रा बाजुरा र हुम्लासम्म पुगेर मात्र टुंगिनेछ। मन्त्रीको यो ‘भेलसँगको यात्रा’ ले कर्णालीको ‘मृत्युमार्ग’ लाई कहिले ‘भाग्यमार्ग’ मा बदल्छ, त्यो भने हेर्न बाँकी नै छ।



