Sunday, August 9, 2026 | 10:28:57 PM

रामप्रकाश बिक जुम्ला साउन २ गते । नेपालका विभिन्न भूगोलमा साउने संक्रान्ति आ–आफ्नै परम्परा र संस्कृतिसहित मनाइन्छ। तर, कर्णाली क्षेत्रमा यसको छुट्टै र विशिष्ट मौलिक पहिचान छ। यहाँ साउन महिनाको पहिलो दिन अर्थात् साउने संक्रान्तिलाई ‘लुतो फाल्ने दिन’का रूपमा विशेष उत्साहका साथ मनाउने परम्परा आज पनि जीवित छ। यो केवल एउटा चाड मात्र होइन, कर्णालीको मौलिक संस्कृति, जनविश्वास र सामुदायिक एकताको प्रतीक पनि हो।

​राँकोको उज्यालोमा ‘लंका दहन’को झल्को

​साविक कर्णालीका अधिकांश गाउँबस्तीमा साउने संक्रान्तिको साँझ प्रत्येक घरमा राँको (सल्लाको झर्रो वा दियालो) बालिन्छ। घरको छाना, ओटाली, आँगन तथा जस्तापाता भएका घरका वरिपरि राँको बालेर पूरै गाउँलाई उज्यालो बनाइन्छ।

​रातिको अन्धकारमा बलिरहेका ती राँकाहरूले हनुमानले लंका दहन गरेको दृश्यको झल्को दिन्छन्। स्थानीय जनविश्वासअनुसार यही विजयको स्मरणमा यो पर्व मनाउने चलन बसेको हो।

 

​गाउँ–गाउँबीचको ठट्टा र रोगव्याधि खेद्ने परम्परा

​यस दिनको अर्को रमाइलो विशेषता भनेको गाउँ–गाउँबीच हुने मीठो ठट्टा हो। एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई हाँसो–ठट्टाको शैलीमा गाली गर्ने वा आफ्नो दुःख अर्कोतर्फ पठाउने पुरानो परम्परा अझै कायम छ। उनीहरू ठूलो स्वरमा चिच्याउँदै भन्छन्:

​”पुरानो फेरुवा (भुईंमा ओछ्याउने कपडा) लैजा, नयाँ फेरुवा दिजा।

नाठी गाई लैजा, दुहुनो गाई दिजा।

लुतो, पाउडो, खड्कुने, रोगव्याध सबै लैजा।

तिमीले पाएका सुखहरू सबै दिजा, नराम्रा सबै लैजा…”

 

​यी शब्दहरू शाब्दिक अर्थभन्दा पनि सांस्कृतिक विश्वास र सामुदायिक मनोरञ्जनका अनुपम अभिव्यक्ति हुन्। यसरी नराम्रा कुरा बिदा गरेर साउन महिनालाई शुभ र समृद्ध बनाउने कामना गरिन्छ।

​साथै, यस अवसरमा शंख, घण्ट, झ्याली, दमाहालगायतका बाजागाजा ठूलो स्वरमा बजाइन्छ। त्यसो गर्दा रोगव्यादी, भूतप्रेत, नकारात्मक शक्ति तथा अशुभ प्रभावहरू गाउँबाट टाढा भाग्ने जनविश्वास रहिआएको छ। राँकोको उज्यालो, बाजागाजाको धुन र सामूहिक सहभागिताले गाउँभरि उत्सवमय वातावरण सिर्जना गर्छ।

​१४ र २० मा फरक मौलिकता: सुख र समृद्धिको ‘सह’ माग्ने परम्परा

​कर्णालीको यो साझा रूपभन्दा केही फरक र बेग्लै प्रकारको संस्कृति १४ र २० (स्थानीय क्षेत्र/बस्ती) मा हेर्न पाइन्छ। यहाँका मानिसहरू लुतो फाल्ने वा गाली गर्ने भन्दा पनि विशेष रूपमा ‘सह’ (समृद्धि र बरकत) माग्ने गर्दछन्।

​स्थानीय जानकार एवं गाउँपालिका वडा नं. १ की जानकी महताराका अनुसार, यस क्षेत्रमा साउने संक्रान्तिलाई प्रकृति र अन्नबालीसँग जोडेर हेरिन्छ। वर्षभरि घरमा अन्नको अभाव नहोस्, खेतीपाती राम्रो होस् र पशुचौपाया सप्रिउन् भन्दै प्रकृति र भगवानसँग ‘सह’ माग्ने मौलिक परम्परा यहाँको मुख्य आकर्षण हो। यो परम्पराले कर्णालीको संस्कृतिभित्रको विविधता र सुन्दरतालाई अझ उजागर गर्छ।

​आधुनिकता र प्रविधिको विकास, तीव्र शहरीकरण, बसाइँसराइ र जीवनशैलीमा आएको परिवर्तनका कारण कतिपय स्थानमा यो मौलिक संस्कारको निरन्तरता चुनौतीमा परेको देखिन्छ। यद्यपि, कर्णालीका धेरै गाउँमा यो अझै पनि पुस्तान्तरण हुँदै आएको छ।

साउने संक्रान्ति कर्णालीका लागि केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र होइन; यो प्रकृतिसँगको सम्बन्ध, सामुदायिक एकता, पारिवारिक सद्भाव र सकारात्मक जीवनप्रतिको विश्वासलाई जीवन्त बनाउने एउटा अनुपम सांस्कृतिक सम्पदा हो। राँकोको उज्यालोसँगै रोगव्याधि र दुःखलाई बिदा गर्ने तथा नयाँ आशा, सुख र समृद्धिलाई स्वागत गर्ने यो परम्परा कर्णालीको मौलिक पहिचानका रूपमा सदैव जीवित रहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय