Sunday, August 9, 2026 | 11:07:49 PM

डोल्पा, ३१ असार । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ०१, त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको विशेष चेकिङका क्रममा ५५ लाख १० हजार रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।

​जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनय कुमार सिंहका अनुसार पक्राउ पर्नेहरूमा​विष्णुलाल रोकाय त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ०७, छल बस्ने वर्ष अन्दाजी ३२ का (मोटरसाइकल चालक) र

​भक्ती चन्द्र रोकाय सोही स्थान बस्ने वर्ष अन्दाजी ४२ का (मोटरसाइकलमा पछाडि सवार) रहेको जनाएको छ।

​जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त क्षेत्रमा जाँच गरिरहेको थियो। प्रहरी निरीक्षकको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वार्टर डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जना गरी कुल २१ जनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।

​दुनैतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ।

​”चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुवै जनाको साथबाट तत्काल स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँ फेला परेपछि रकमसहित उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिइएको हो,” सूचना अधिकारी सिंहले जानकारी दिनुभयो।

 

​बरामद गरिएको उक्त ठुलो रकम कहाँबाट र के प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक स्रोत खुलिसकेको छैन। प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनामाथि सो सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय