राम प्रकाश बिक,जुम्ला, असार ३२ । दुर्गमका विद्यालयहरूमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव त छँदै छ, त्यसमाथि आधुनिक प्रविधि (IT) को पहुँच नपुग्दा यहाँका विद्यार्थीहरू अझै पनि परम्परागत शिक्षण सिकाइमै सीमित हुन बाध्य छन्। तर, पछिल्लो समय स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले ग्रामीण क्षेत्रका विद्यालयहरूमा पनि डिजिटल रूपान्तरणको नयाँ आशा जगाउन थालेको छ।
यसै क्रममा जुम्लाको गुठिचौर गाउँपालिका-४, दसौदीमा अवस्थित सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि एउटा खुसीको खबर थपिएको छ। लक्ष्मी सनराइज बैंकको गुठिचौर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यालयलाई एक थान आधुनिक कम्प्युटर सहयोग गरेको छ।



विद्यार्थीहरूको सूचना तथा सञ्चार प्रविधि (आईटी) सम्बन्धी ज्ञान र प्राविधिक सीप विकासमा टेवा पुर्याउने उद्देश्यले बैंकले सो सामग्री उपलब्ध गराएको हो।

विद्यालय प्राङ्गणमा आयोजित एक परिचर्चा तथा हस्तान्तरण कार्यक्रमका बीच लक्ष्मी सनराइज बैंक गुठिचौर शाखाका प्रबन्धक प्रकाश शर्माले उक्त कम्प्युटर सामग्री आधिकारिक रूपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो। कम्प्युटर ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गुठिचौर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टिकादत्त नेउपाने र विद्यालयका प्रधानाध्यापक गोविन्द पछाईंले बैंकको यो कदम ग्रामीण शिक्षाको उत्थानका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयो।
”किताबी ज्ञान मात्र होइन, अब व्यावहारिक सीप”
अहिलेको युग डिजिटल युग हो। बजारमा प्रतिस्पर्धा गर्नका लागि विद्यार्थीहरूमा कम्प्युटर र इन्टरनेटको आधारभूत ज्ञान हुन अनिवार्य भइसकेको छ। सहयोग ग्रहण गरेपछि खुसी व्यक्त गर्दै प्रधानाध्यापक गोविन्द पछाईंले भन्नुभयो: “प्राप्त सहयोगले विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्न ठुलो मद्दत पुग्नेछ। यसअघि विद्यार्थीहरूले कम्प्युटर कस्तो हुन्छ भनेर किताबका पानामा मात्र देख्ने स्थिति थियो, अब भने उनीहरूले आफैँ चलाएर व्यावहारिक ज्ञान हासिल गर्न थप सहज हुने अपेक्षा राखेका छौँ।”

बैंक तथा वित्तीय संस्थाहरू केवल नाफा कमाउने माध्यम मात्र नभएर समाजका सारथि पनि हुन् भन्ने कुरा यस सहयोगले पुष्टि गरेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपानेले बैंकप्रति आभार व्यक्त गर्दै भन्नुभयो, ”लक्ष्मी सनराइज बैंकले केवल वित्तीय कारोबार मात्र नगरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वमार्फत सहयोगात्मक हातहरू अघि बढाउनु एकदमै सुखद र प्रशंसनीय कार्य हो।”
दुर्गमका सरकारी विद्यालयहरूमा प्रविधिको पहुँच विस्तार गर्नका लागि बैंकले आगामी दिनमा पनि यस्ता शिक्षा र प्रविधि लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यो सानो सहयोगले जुम्लाका ग्रामीण बालबालिकाहरूमा प्रविधिको ज्योति फैलाउन र उनीहरूको आत्मबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीय सरोकारवालाहरूले लिएका छन्।



