राम प्रकाश वि.क, जुम्ला । गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा तीनवटा नवनिर्मित कार्यालय भवनहरूको एकैपटक भव्य रूपमा उद्घाटन गरिएको छ। वडा कार्यालयले आयोजना गरेको एक विशेष कार्यक्रमका बीच आधारभूत स्वास्थ्य चौकी, वडा कार्यालयको प्रशासकीय भवन र शंकर प्राथमिक विद्यालयको भवन उद्घाटन गरिएको हो।
भवन निर्माणका लागि जग्गा दान गर्ने कुशेन्द्र महत लगायतका सम्पूर्ण जग्गादाताहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। सहयोगी मनहरू प्रति कृतज्ञता प्रकट गर्दै जग्गादाताहरूलाई दोसल्ला र खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो। महत भने कार्यक्रममा सहभागिता जनाउनु भएको थिएन् ।

यसैगरी, कार्यक्रममा आमन्त्रित अन्य विभिन्न वडाका वडाध्यक्षहरू तथा पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरेर सत्कार गरिएको थियो।

गुठीचौर गाउँपालिका ५ को सुचना


उद्घाटन समारोहलाई थप रोचक र भव्य बनाउन सांस्कृतिक प्रस्तुतिका जोडिएको थियो। कार्यक्रममा सहभागी चर्चित कलाकार संगिता बडुवाल र कार्यक्रमका सञ्चालक विश्वराज खत्री लगायतले आ–आफ्ना उत्कृष्ट गीतहरू प्रस्तुत गरेर उपस्थित जनसमुदायलाई भरपूर मनोरञ्जन दिलाउनुभएको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुठीचौर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष इन्द्र बुढाले आफू विकास निर्माणको काममा निरन्तर लागिपरेको बताउनुभयो। गाउँको विकास गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि कतिपय अवस्थामा एक्लो प्रयासले मात्र सोचेजस्तो सहज नहुने उहाँको अनुभव थियो।
वडाध्यक्ष इन्द्र बुढाले “विकास गर्ने मन र इच्छाशक्ति अझै बाँकी छ, तर कतिपय अवस्थामा एक्लो (सिंगल) पर्दा समस्या हुँदो रहेछ। यो सफलता विभिन्न क्षेत्रमा गरिएको हारगुहार र सामूहिक प्रयासबाट मात्रै सम्भव भएको हो। “वडाध्यक्ष बुढाले भवन निर्माणका लागि जग्गा दान गर्ने कुशेन्द्र महत लगायतका सम्पूर्ण जग्गादाताहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व जिविस सभापति तीर्थबहादुर बुढाले विगतको तुलनामा अहिले समाजले विकासको गतिमा ठूलो फड्को मारेको उल्लेख गर्नुभयो। पहिलेको अवस्था र अहिलेको अवस्थाबीच आकाश–जमिनको फरक रहेको चर्चा गर्दै उहाँले अब पनि ’विकास भएन’ भनेर गुनासो गरिरहने ठाउँ नरहेको दाबी गर्नुभयो।
वडा नं.४ का वडा अध्यक्ष तथाल विशेष अतिथि टिकादत्त न्यौपानेले वडा नम्बर ३ मा भएका यस्ता गौरवशाली विकासका कार्यहरूले छिमेकी वडाहरूलाई पनि सकारात्मक ऊर्जा र प्रेरणा दिने बताउनुभयो। गाउँपालिकाको समग्र समृद्धि र विकासका लागि सबै वडाहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथि तथा वडा नं.५ वडा अध्यक्ष कमल बहादुर महतले स्वास्थ्य, शिक्षा र प्रशासनिक भवनहरू एकैपटक निर्माण सम्पन्न हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। नयाँ संरचनाहरू बनेसँगै अब जनताले आफ्नै वडाबाट थप सहज, गुणस्तरीय र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवीहरू र नागरिकहरूको व्यापक उपस्थिति रहेको उक्त कार्यक्रमले गुठीचौर गाउँपालिकामा विकास र सहकार्यको नयाँ सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय