नराकोट, जुम्ला । जुम्लाको सिंजा क्षेत्रकै ऐतिहासिक तथा अग्रणी शैक्षिक संस्था श्री भैरव माध्यमिक विद्यालय, नराकोटको ६७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक विशेष समारोहका बीच भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा सरोकारवालाहरूको ठुलो उपस्थिति रहेको थियो।


गुठीचौर गाउँपालिका ५ को सुचना



कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका विषयमा आफ्ना महत्त्वपूर्ण धारणाहरू राख्नुभएको थियो।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले ”६७ वर्षको लामो गौरवशाली इतिहास बोकेको श्री भैरव माध्यमिक विद्यालय यस क्षेत्रकै शैक्षिक धरोहर हो। विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि गाउँपालिकाले सधैँ प्राथमिकता दिँदै आएको छ। आगामी दिनमा प्राविधिक शिक्षाको विस्तार र डिजिटल सिकाइ प्रणालीलाई अगाडि बढाउन गाउँपालिकाले आवश्यक बजेट र स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षामा आमूल परिवर्तन सम्भव छ।”

गाउँपालिका उपाध्यक्ष सितली रोकायाल्व ”भौतिक पूर्वाधारको विकाससँगै विद्यालयमा बालबालिकामैत्री र विशेष गरी छात्रामैत्री वातावरण निर्माण हुन जरुरी छ। समाज रूपान्तरणका लागि गुणस्तरीय शिक्षा पहिलो सर्त हो। हाम्रा बालबालिकाहरूलाई संस्कारयुक्त र व्यावहारिक शिक्षा दिनका लागि गाउँपालिकाले विशेष योजनाहरू अघि सारेको छ। विद्यालयको यो ऐतिहासिक यात्रामा सहकार्य गर्न हामी सधैँ तत्पर छौँ।”

वडा नं. २ का अध्यक्ष तीर्थ वडले ”हाम्रो वडा भित्र रहेको यस ऐतिहासिक विद्यालयको गरिमालाई जोगाइराख्नु हामी सबैको साझा दायित्व हो। वडा कार्यालयको तर्फबाट विद्यालयको चौतर्फी विकासका लागि स्थानीय स्तरबाट हुने सक्दो सहयोग र समन्वय सधैँ रहिरहनेछ। विद्यालयलाई नमुना विद्यालयको रूपमा स्थापित गर्न हामी निरन्तर लागिपर्नेछौँ।”

वडा नं. ३ का अध्यक्ष सुरथ बहादुर रावतले ”विद्यालयको ६७औँ वार्षिक उत्सवको सुखद अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु। शिक्षा क्षेत्रमा राजनीतिकरण हुनुहुँदैन। विद्यालयको शैक्षिक वातावरण सुधार्न र विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउनका लागि समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हामी जनप्रतिनिधिहरू विद्यालयको हरेक सुख-दुःखमा साथमै छौँ।”

वरिष्ठ शिक्षा अधिकृत शंकर धितालले ”पछिल्लो समय शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ। भैरव माविले समयसापेक्ष रूपमा आफ्नो शैक्षिक गुणस्तरमा सुधार गर्दै लैजानुपर्छ। शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन म आग्रह गर्दछु। नियमन र सहजीकरणका लागि शिक्षा शाखा सधैँ तत्पर छ।”
वार्षिक उत्सवको अवसरमा विद्यालयका छात्रछात्राहरूले स्थानीय संस्कृति झल्कने विभिन्न गीत, नृत्य तथा नाटकहरू प्रस्तुत गरेका थिए। सोही अवसरमा वर्षभरि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू, खेलकुद तथा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।





