राम प्रकाश विक, जुम्ला, असार १४ गते । दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ लाई एक भव्य समारोहका बीच पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। यो गुठीचौर गाउँपालिकाकै दोस्रो पोषणमैत्री वडा हो।
स्थानीय बाजागाजा, सांस्कृतिक नाचगान र सयौँ स्थानीयवासीको उत्साहजनक सहभागिताबीच झारज्वाला माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम केवल औपचारिक घोषणामा मात्र सीमित रहेन, बरु समुदायस्तरमै पोषण सुधारका लागि जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजको साझा प्रतिबद्धताको बलियो थलो बन्यो। जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकाली र गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल ९भण्डारी० ले संयुक्त रूपमा पानसमा बत्ती बालेर तथा गमलामा पानी हालेर वडालाई पोषणमैत्री घोषणा गर्नुभएको थियो।

गुठीचौर गाउँपालिका ५ को सुचना



सोही अवसरमा उपस्थित जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी र स्थानीय सरोकारवालाहरूले घोषणापत्रमा उल्लेख भए बमोजिम वडाको दिगो विकास र पोषण सुधारका लागि ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र मा समेत हस्ताक्षर गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले कुपोषण कुनै एक परिवारको मात्र नभई समग्र समाजको साझा चुनौती भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, अब कुनै पनि बालबालिका कुपोषणको सिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सबै तहको निरन्तर प्रयास आवश्यक छ। उहाँले पोषण सुधारमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल ९भण्डारी०ले वडा नम्बर ५ को यो उपलब्धि सम्पूर्ण गाउँपालिकाकै गौरव भएको बताउनुभयो। सहयोगी दाता, कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो— ूआगामी ४ वर्षभित्र पोषणमैत्री स्थानीय शासन कार्यविधि, २०८० बमोजिम सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री शासनयुक्त घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाइनेछ।

गाउँपालिकाका पूर्व अध्यक्ष हरिबहादुर भण्डारीले पोषण सुधारको यो यात्रा विगतकै निरन्तर प्रयासको प्रतिफल भएको स्मरण गराउनुभयो। आफ्नो कार्यकालका व्यवहारिक अनुभवहरू साट्दै उहाँले भन्नुभयो, वडामा पोषण सुधारका लागि हामीले विगतमा चल्ला, कुखुरा, बाख्रा, भैंसी तथा अन्य पोषणयुक्त खानेकुराहरू वितरण गरेका थियौँ। उहाँले हिजो सुरु गरिएका तिनै व्यवहारिक प्रयासले आज यो ऐतिहासिक मोडसम्म ल्याइपुर्याएको बताउँदै यसको दिगोपनाका लागि सामुदायिक सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष अर्जुनकुमार महताराले बालबालिका, गर्भवती, सुत्केरी र किशोरीहरूको पोषण अवस्थासँग सम्बन्धित सूचक पूरा गर्नु ठूलो सफलता भएको बताउनुभयो। उहाँले भौगोलिक रूपमा टाढा रहेका वडाहरूले पनि सीमित स्रोतसाधनका बीच कुपोषण न्यूनीकरणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
कर्णाली प्रदेश योजना आयोगका कार्यालय प्रमुख गोपाल केसीले सूचक पूरा गरेर घोषणा गर्नुभन्दा पनि त्यसलाई व्यवहारमा उतारेर दीर्घकालसम्म कायम राख्नु अझ चुनौतीपूर्ण हुने धारणा राख्नुभयो। यस्तै, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले घोषणा कागजमा सीमित भए अर्थ नहुने भन्दै नागरिकको दैनिक व्यवहारमै पोषणसम्बन्धी अभ्यास स्थापित गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका गाउँपालिका प्रतिनिधि रावल, नेपाली कांग्रेसका सभापति टेकबहादुर भण्डारी, र गैसस महासंघका जिल्ला अध्यक्ष टेकबहादुर रावत लगायतले पोषणमैत्री अभियानको दिगोपनाका लागि निरन्तर अनुगमन र व्यवहार परिवर्तन आवश्यक रहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
घोषणा समारोहमा राष्ट्रियस्तरकी गायिका इब्सल सञ्जाल तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले थप उत्साह भरेको थियो। कार्यक्रममा स्थानीय पञ्चेबाजा, विद्यालयका स्वागत गीत र सांस्कृतिक नृत्यसँगै स्थानीय महिलाहरूले प्रस्तुत गरेको देउडा विशेष आकर्षण बन्यो। महिलाहरूले देउडा मार्फत ‘सरसफाइ गरौँ, स्थानीय रैथाने बाली उत्पादन गरी खाऔँ’ भन्ने सन्देश दिँदै पोषण, सरसफाइ र रैथाने उत्पादनको महत्त्वलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए। वडाध्यक्ष कमलबहादुर महतका अनुसार यस्ता सांस्कृतिक प्रस्तुतिले अभियानप्रति समुदायको अपनत्व अझ बढाएको छ।
गाउँपालिकाका पोषण शाखा प्रमुख जग्गीप्रसाद धितालका अनुसार संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा कार्यविधिले निर्धारण गरेका ४९ सूचकमध्ये ९६ प्रतिशत सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको कडा अनुगमनका आधारमा यो घोषणा गरिएको हो। हाल वडामा बालबालिकाको कुपोषणको अवस्थामा उल्लेखनीय सुधार आएको छ। यस्तै, महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले पोषण कार्यक्रमले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो।
घोषणा पत्रमा आधारित ११ बुँदे सामूहिक प्रतिबद्धताका मुख्य बुँदाहरूः
वडालाई पूर्ण रूपमा पोषणमैत्री र समृद्ध बनाउन सबै सरोकारवालाहरूले देहायका संकल्पहरू पारित गरेका छन्स्
१। सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सृजना गरी गुणात्मक शिक्षा सुनिश्चित गर्ने।
२। वडाका स्वास्थ्य संस्था मार्फत निःशुल्क, गुणस्तरीय स्वास्थ्य र पोषण सेवाको सुनिश्चितता गर्ने।
घ। गर्भवती, सुत्केरी आमा र बालबालिकालाई पोषण प्रोत्साहन र पोषिलो सामग्री उपलब्ध गराउने।
४। बाल पोषण अनुदानलाई ठोस कार्यक्रम र प्रभावकारी अनुगमनसँग आबद्ध गरी वितरण गर्ने।
५। सुरक्षित खानेपानी, सरसफाइ व्यवस्था र पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने।
६। सहयोगी निकायबाट प्राप्त सहयोगलाई मूलप्रवाहीकरण गर्दै प्रभावकारी अनुगमन संयन्त्र बनाउने।
७। बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी अनुगमन, सुशासन र पारदर्शिता सुनिश्चित गर्ने।
८। वार्षिक उपलब्ध आन्तरिक स्रोतका साथै प्राप्त अनुदानको निश्चित रकम पोषणमा लगानी गर्ने।
९। संघीय, प्रादेशिक, र अन्य विकास साझेदारहरूसँग सार्थक समन्वय गर्ने।
१०। बालविवाह र छुवाछुत जस्ता सामाजिक कुरीति र विकृति अन्त्यका लागि ठोस नियम र कार्यक्रम कार्यान्वयन गर्ने।
११। स्वस्थ, सफा र पोषणमैत्री घर, गाउँ, टोल बनाउँदै आगामी ४ वर्षभित्र सिंगो पालिकालाई नै पोषणमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने।
गुठीचौर वडा नम्बर ५ को यो ऐतिहासिक घोषणा र ११ बुँदे प्रतिबद्धताले जुम्ला मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै पोषण र स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ र अनुकरणीय मार्गप्रशस्त गरेको छ।





