जुम्ला जिल्ला कर्णाली प्रदेशको चौचौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाका आठवटै स्थानीय तहले जेठ महिनाभित्र पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि सोमबार एक कार्यक्रमका बीच जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितास् पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। दैलेख, सुर्खेत र कालीकोटपछि जुम्ला यो सफलता पाउने कर्णालीको चौथो जिल्ला बनेको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना



जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार जिल्लाका कुल ५ हजार ४ सय ३५ जना बालबालिकालाई खोप प्रदान गरिएको छ। जसमा जन्मेदेखि पाँच वर्षमुनिका २ हजार ६८ जना तथा १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ६७ जना बालबालिका रहेका छन्।
माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण गरी वैशाखलाई खोप महिनाका रूपमा सञ्चालन गरिएको र विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई जेठ महिनामा ुखोज र खोपु अभियानमार्फत खोप सेवा दिइएको कर्णाली प्रदेश खोप समन्वय समितिका सदस्य ओमप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी असार मसान्तभित्र कर्णाली प्रदेशलाई नै पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गर्ने तयारी भइरहेको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहबीचको त्रिपक्षीय सहकार्यका कारण यो सफलता सम्भव भएको बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले गाउँ(टोल र जोखिमपूर्ण क्षेत्रमा पुगेर नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। सो अवसरमा सबैभन्दा पहिले पूर्णखोप सुनिश्चितता घोषणा गर्ने स्थानीय तहका रूपमा पातारासी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अन्य स्थानीय तहका स्वास्थ्य शाखालाई प्रमाणपत्र वितरण गरिएको थियो।





