जुम्ला, १४ असार । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ लाई जिल्लाकै दोस्रो पोषणमैत्री वडा घोषणा गरिएसँगै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले यस अभियानलाई दिगो बनाउने दृढता व्यक्त गरेका छन्। प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर गर्दै उनीहरूले वडाका हरेक नागरिक, विशेष गरी आमा र बालबालिकाको स्वास्थ्य सुधारका लागि सरकारी नीति र स्थानीय स्रोतको प्रभावकारी परिचालन गर्ने संकल्प गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले गुठीचौर वडा नं. ५ ले हासिल गरेको यो उपलब्धि सिंगो जिल्लाकै लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो— “वडालाई पोषणमैत्री घोषणा गर्नु मात्र ठूलो कुरा होइन, यसलाई दिगो रूपमा टिकाइराख्नु मुख्य चुनौती हो। जिल्ला समन्वय समितिको तर्फबाट यस अभियानलाई पूर्ण साथ र आवश्यक समन्वय रहनेछ।” उहाँले स्थानीय तहले देखाएको यो सक्रियताले नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष जोड दिने विश्वास व्यक्त गर्नुभयो।

गुठीचौर गाउँपालिका ५ को सुचना



गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले वडा नम्बर ५ को जगमा टेकेर अब आगामी ४ वर्षभित्र सिङ्गो गाउँपालिकालाई नै पोषणमैत्री स्थानीय शासन कार्यविधि, २०८० बमोजिम पोषणमैत्री पालिका घोषणा गर्ने नीतिगत लक्ष्य रहेको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले आमा, शिशु र बालबालिकाको पोषण सुरक्षाका लागि बजेट तथा योजनाहरूमा प्राथमिकता दिएका छौँ। यो अभियानलाई सफल बनाउन स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको भूमिका अतुलनीय छ र यसलाई अझ सुदृढ बनाइनेछ।”
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष अर्जुन कुमार महतराले वडा स्तरीय योजनाहरूलाई बहुक्षेत्रीय पोषण योजनासँग जोडेर लैजाने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो— “हामीले बनाएका ११ बुँदे प्रतिबद्धताहरू कागजमा मात्र सीमित हुने छैनन्। बालविवाह, छुवाछुत जस्ता सामाजिक कुरीति अन्त्य गर्दै स्वस्थ, सफा र पोषणमैत्री घर-टोल निर्माणका लागि वडा र कार्यपालिका तहबाट ठोस अनुगमन र बजेटको व्यवस्था गरिनेछ।”
गाउँपालिकाका निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारीले पोषण सुधारको यो यात्रा विगतदेखिकै निरन्तर प्रयासको प्रतिफल भएको स्मरण गराउनुभयो। आफ्नो कार्यकालका अनुभवहरू साट्दै उहाँले भन्नुभयो, “वडा र पालिकामा पोषणको अवस्था सुधार गर्नका लागि हामीले विगतमा पनि चल्ला, कुखुरा, बाख्रा, भैंसी तथा अन्य पोषणयुक्त खानेकुराहरू नागरिकको घरदैलोमै पुर्याएर वितरण गरेका थियौँ। हिजो सुरु गरिएका तिनै व्यवहारिक प्रयास र लगानीले आज यो वडालाई पोषणमैत्री घोषणा गर्ने ऐतिहासिक मोडसम्म ल्याइपुर्याएको हो।” उहाँले नयाँ नेतृत्वले यसलाई अझ परिष्कृत रूपमा अगाडि बढाउनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो।

गुठीचौर वडा नं. ५ को यो पोषणमैत्री घोषणा केवल एक औपचारिक कार्यक्रम मात्र नभएर जिल्ला समन्वय समिति, गाउँपालिकाका वर्तमान पदाधिकारी र निवर्तमान नेतृत्वको साझा बुझाइ र सहकार्यको उत्कृष्ट नमुना बनेको छ।





