जुम्ला, १२ असार । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। जिल्लाको तातोपानी गाउँपालिका–३ लिताकोटस्थित जुम्ला–नाग्मा सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी चिरञ्जीवी दाहालका अनुसार लिताकोटको मोडमा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल बारीमा खसेको थियो।

गुठीचौर गाउँपालिका ५ को सुचना



रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भई हाल जुम्लाको चन्दननाथ नगरपालिका–५ कालिखोलीस्थित पौवा होटलमा कार्यरत २२ वर्षीय दर्शन काफ्लेले चलाएको क १ प ११७८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा परी चालक काफ्लेको मुख र निधारमा सामान्य चोट लागेको छ भने मोटरसाइकलको पछाडि सवार जुम्लाको सिंजा गाउँपालिका–५ का २८ वर्षीय दिलिप रोकायाको दाहिने आँखामाथि सामान्य चोट लागेको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी लिताकोटबाट प्रहरी सहायक निरीक्षक (असई) विष्णु बहादुर थापाको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई तत्कालै उद्धार गरी थप उपचारका लागि दिउँसो २:५० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याइएको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्रलगायतका कागजपत्र साथमा नभएको पाइएको छ। उक्त मोटरसाइकललाई प्रहरी चौकी लिताकोटले नियन्त्रणमा लिएको छ।
घटनास्थल प्रहरी चौकी लिताकोटबाट करिब ४०० मिटर पूर्व र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १२ किलोमिटर पश्चिममा पर्दछ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





