राम प्रकाश बिक जुम्ला । एक समय थियो, जुम्लाका चोक-गल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिँदा मानिसहरू उपहास गर्थे। तर, रास्वपाको पहिलो जिल्ला अधिवेशनले त्यो उपहासलाई जनलहरमा बदलिदिएको छ। जिल्ला अधिवेशनबाट मक्कर बहादुर भण्डारी पुनः जिल्ला सभापतिमा निर्विरोध चयन भएसँगै जुम्लाको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना



जिल्ला सभापतिमा पुनरावलोकन भएका मक्कर बहादुर भण्डारीले भावुक हुँदै विगत सम्झिए। उनले भने, “जब हामीले यहाँ रास्वपाको यात्रा सुरु गरेका थियौँ, धेरैले यसलाई हाँसोको विषय बनाएका थिए। तर, आजको यो जनलहरले पुराना शक्तिहरूलाई स्पष्ट सन्देश दिएको छ—जुम्लाको राजनीति अब नयाँ दिशामा अघि बढिसकेको छ।”
अधिवेशनमा देखिएको उत्साह र जनसहभागिताले जुम्लाले अब नयाँ नेतृत्व र नयाँ सोच खोजिरहेको स्पष्ट पारेको छ। भण्डारीले अब पार्टीलाई गाउँ–गाउँसम्म पुर्याएर जुम्लाको भविष्य निर्माणमा रास्वपालाई निर्णायक शक्ति बनाउने अठोट व्यक्त गरे।
जुम्लामा रास्वपाको बढ्दो आकर्षणको सबैभन्दा ठूलो प्रमाण अन्य दलका नेताहरूको प्रवेश बनेको छ। पुराना दलहरूको कार्यशैलीबाट आजित भएका स्थानीय नेताहरू रास्वपामा समाहित हुन थालेका छन्।
गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। उनले पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेकाले नयाँ विकल्पको खोजीमा आफू रास्वपामा आएको प्रष्ट पारे।
गुठिचौर–४ का निवर्तमान वडाध्यक्ष जग्गी प्रसाद जैशीको नेतृत्वमा वडा नं १, २, ३ र ४ का गरी ३० जनाभन्दा बढी सक्रिय कार्यकर्ताले अन्य दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। यो घटनालाई स्थानीय राजनीतिमा ‘शक्ति सन्तुलन परिवर्तनको सङ्केत’का रूपमा हेरिएको छ।
के जुम्लाको राजनीति फेरिँदैछ?
राजनीतिक विश्लेषकहरूका अनुसार जुम्लामा पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा तीव्र छ। रास्वपाले यही असन्तुष्टिलाई परिवर्तनको ऊर्जाका रूपमा प्रयोग गरिरहेको छ। जिल्ला अधिवेशनले केवल नयाँ कार्यसमिति मात्र चयन गरेको छैन, बरु आगामी निर्वाचनका लागि बलियो आधारसमेत खडा गरेको छ।
जुम्लाको माटोमा अहिले परिवर्तनको हुरी चलेको छ। यदि रास्वपाले यही गतिलाई निरन्तरता दियो भने, आगामी दिनमा जुम्लाको राजनीतिमा रास्वपा ‘गेम चेन्जर’ सावित हुने निश्चित प्रायः देखिएको छ।





