उपेन्द्र न्यौपाने, डोल्पा । हिमाली जिल्ला डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर (Altitude Sickness) जुम्लाकी एक १७ वर्षीया युवतीको अकालमा मृत्यु भएको छ । कामको खोजीमा डोल्पा पुगेकी जुम्ला गुठिचौर गाउँपालिका वडा नं. १, मणीगाउँ निवासी मन्जली रोकायाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गुठीचौर गाउँपालिका ५ को सुचना



रोजगारीको सिलसिलामा शे-फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँतर्फ जाँदै गर्दा उनलाई समुद्री सतहबाट उच्च उचाइमा रहेको काङ्लापास आसपासमा स्वास्थ्य समस्या देखिएको थियो । उनलाई तत्काल उद्धार गरी फोक्सुण्डो स्वास्थ्य चौकी पुर्याउने प्रयास गरिए पनि बाटोमै प्राण पखेरु उडिसकेको स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्यकर्मीका अनुसार उनमा लेक लाग्ने स्पष्ट लक्षणहरू
अत्यधिक टाउको दुख्ने र वाकवाकी लाग्ने, सास फेर्न कठीन हुने र लगातार बान्ता हुने , अन्तमा बेहोस हुने (High Altitude Cerebral Edema को लक्षण) देखिएका थिए।
”स्वास्थ्य चौकी ल्याइपुर्याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । हामीले अक्सिजन र सीपीआर (CPR) मार्फत बचाउने अन्तिम प्रयास गर्यौँ, तर सफलता मिलेन,” स्वास्थ्य चौकीका प्रतिनिधिले बताए ।
अहिले हिउँद सकिएसँगै डोल्पाका पाटनहरूमा यार्चागुम्बा संकलनको सिजन सुरु हुन लागेको छ । यसका साथै पर्यटकीय गतिविधि र स्थानीयको आवतजावत पनि ह्वात्तै बढेको छ । फोक्सुण्डो क्षेत्र ३६०० मिटरभन्दा बढी उचाइमा रहेको र काङ्लापास जस्ता क्षेत्र झनै उच्च रहेकाले न्यून अक्सिजनका कारण ‘अल्टिच्युड सिक्नेस’को जोखिम उच्च रहने गर्दछ ।
स्वास्थ्य विज्ञहरूले उच्च हिमाली भेगको यात्रा गर्दा विशेष सावधानी अपनाउन अपिल गरेका छन्। डिहाइड्रेशनले लेक लाग्ने सम्भावना बढाउँछ । शरीरलाई उचाइसँग अभ्यस्त गराउन (Acclimatization) हतार नगरी यात्रा गर्ने , टाउको दुख्ने वा रिंगटा लाग्ने बित्तिकै थप उचाइमा नजाने र सम्भव भए तल झर्ने, प्राथमिक उपचार र आवश्यक औषधिको साथमा मात्र यात्रा गर्नुपर्ने बताउनु भएको छ।
यो दुखद घटनाले उच्च हिमाली क्षेत्रमा जाने कामदार र पर्यटकहरूका लागि स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई पुनः एकपटक झकझकाएको छ ।





