उपेन्द्र न्यौपाने, जुम्ला । कर्णालीको हिमाली जिल्ला जुम्लाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्साहजनक नतिजा ल्याएको छ। शिक्षा विकास तथा समन्वय इकाई, जुम्लाका अनुसार जिल्लाभरबाट नियमिततर्फ सहभागी भएका विद्यार्थीमध्ये ६८.१६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गुठीचौर गाउँपालिका ५ को सुचना

​यस वर्ष जुम्लाबाट कूल २ हजार १३३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये १ हजार ४५४ जना विद्यार्थीले सफलतापूर्वक उच्च शिक्षाको ढोका खोलेका छन्। बाँकी ६७९ जना विद्यार्थी भने ‘नन्-ग्रेडेड’ (NG) भएका छन्। ​ग्रेड वृद्धि परीक्षा उत्तीर्ण हुन नसकेका (NG आएका) विद्यार्थीहरूका लागि आउँदो असार १ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने शिक्षा प्राविधिक खेमराज पन्तले जानकारी दिएका छन्।

​यस वर्षको नतिजामा जुम्लाको जनता माध्यमिक विद्यालय, महत गाउँ जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। सोही विद्यालयमा अध्ययनरत दुई जना छात्राले ४.० जीपीए (Perfect 4.0 GPA) हासिल गरेर जिल्लाकै इतिहासमा नयाँ इँटा थपेका छन्।

 

​विद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतले यस सफलताबाट अत्यन्तै हर्षित हुँदै भन्नुभयो”यो विद्यार्थीहरूको कडा परिश्रम र अभिभावकको निरन्तर साथको प्रतिफल हो। जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हामी सबै सरोकारवालाप्रति आभारी छौँ।”

 

जुम्लामा ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थी ११६ जना रहेका छन् । ३.२० देखि ३.६० जिपिए ल्याउने ३१५ जना, २.८० देखि ३.२० जिपिए ल्याउने ५९३ जना र २.४० देखि २.८० जिपिए ल्याउने ४१२ जना रहेका छन् । २.०० देखि २.४० जिपिए ल्याउने १८ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।

 

यसपटकको नतिजाले जुम्लाको शैक्षिक गुणस्तर सुधारोन्मुख रहेको देखाएको छ। विशेष गरी सामुदायिक विद्यालयको नतिजा र छात्राहरूको ४.० जीपीए प्राप्तिले दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने बलियो सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय