जुम्ला । कर्णालीको साहसिक खेलकुद र पर्यटनको मेरुदण्ड मानिएको ‘सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथन’ भव्य रूपमा सम्पन्न भएको छ। ५४ किलोमिटरको कठिन भौगोलिक दुरी पार गर्दै पुरुषतर्फ धिर बहादुर बुढा र महिलातर्फ कल्पना बुढाले स्वर्ण पदक चुम्न सफल भएका छन्।
कर्णाली स्पोर्ट्स क्लबको आयोजनामा भएको यस प्रतियोगिताले जुम्लादेखि मुगुको रारा तालसम्मको दुरीलाई खेलका माध्यमबाट जोडेको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना



यस्तै पुरुष तर्फको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सोमबहादुर रावत तेस्रो भएका छन् । यस्तै महिला तर्फको दोस्रोमा सुनसरी रोकाया र तेस्र्राेमा सन्ध्या बुढा भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए।
विजेताहरूलाई रारा तालको किनारमा आइतबार एक विशेष समारोहका बीच नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।
अन्य विधाका नतिजाहरू शनिबार नै १० किलोमिटर र ५ किलोमिटरका छोटो दुरीका दौडहरू पनि उत्साहजनक रूपमा सम्पन्न भएकू छ ।
१० किलोमिटर खुल्ला दौड पुरुष तर्फ बसन्त बुढा (प्रथम), नवीन परियार (दोस्रो), र राज भण्डारी (तेस्रो) भएको छ। भने महिला तर्फ सपना बुढा (प्रथम), सुस्मीता भण्डारी (दोस्रो), र गौकली रावत (तेस्रो) हुनुभएको हो।
उनीहरूले पुरस्कारमा १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ।
यसैगरी ५ किलोमिटर (बालबालिका तर्फ) बालक: नोर्भु राना (प्रथम), नरेश रावत (दोस्रो), र नवराज महतारा (तेस्रो) आउनुभएको छ।भने बालिका कृतिका सुनार (प्रथम), एमुना बुढा (दोस्रो), र खुसी बुढाथोकी मगर (तेस्रो) हुनुभएको हो।
यो म्याराथन केवल दौड मात्र नभई कर्णालीको भूगोल र पर्यटनलाई विश्वसामु चिनाउने एउटा पुल बनेको छ। आयोजकका अनुसार, स्थानीय युवा खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने, मुगुको प्रसिद्ध रारा ताल र जुम्लाका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने, जुम्ला र मुगुलाई ‘स्पोर्ट्स टुरिजम’को हबका रूपमा विकास गर्ने उद्देश्य रहेका छन्।
सरोकारवालाहरूले यस प्रकारका साहसिक खेललाई निरन्तरता दिनुपर्ने र यसले कर्णालीको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।





