Sunday, August 9, 2026 | 10:09:26 PM

राम प्रकाश बिक जुम्ला । कर्णाली प्रदेश सरकारले तोकेको चैत १२ गतेको विशेष अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। “जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कृषि विकास कार्यालय जुम्लाको आयोजना र विभिन्न सङ्घसंस्थाको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रममा सहभागी वक्ताहरूले विश्वकै उच्च स्थानमा फल्ने प्रसिद्ध ‘काली मार्सी’ धान जुम्लाको पहिचान र खस सभ्यताको अभिन्न अङ्ग रहेको बताए।

​कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले काली मार्सी धानको संरक्षणमा चन्दननाथ बाबाको ऐतिहासिक योगदान रहेको स्मरण गर्नुभयो। तातोपानीको लाछु ज्युलाबाट धानखेती सुरु भएको किंवदन्ती उल्लेख गर्दै उहाँले चैत १२ लाई ऐतिहासिक गौरवको दिनका रूपमा लिनुपर्ने बताउनुभयो।

​त्यस्तै, चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले सामाजिक सञ्जालमार्फत खस सभ्यता र मार्सी धानको सम्बन्ध अटुट रहेको उल्लेख गर्दै यस दिनलाई सार्वजनिक बिदा दिने दूरदर्शी निर्णयका लागि तत्कालीन मन्त्री नरेश भण्डारीप्रति आभार व्यक्त गर्नुभयो।

​उत्सवको बीचमा किसानहरूले भोग्नुपरेका प्राविधिक समस्याहरूमा पनि गम्भीर छलफल भएको थियो। नागरिक समाजका अध्यक्ष राजबहादुर महतले ‘ब्लास्ट’ रोगका कारण किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै प्रभावकारी नियन्त्रणका लागि पूर्व-तालिम र उपचार विधिको माग गर्नुभयो।

​ कृषि अधिकृत कमला थापा र किसान कविता पराजुलीले धानमा प्रयोग हुने ‘ब्युटाक्लोर’ जस्ता विषादीको सही प्रयोग र व्यवस्थापनमा किसान सचेत हुनुपर्नेमा जोड दिनुभयो।

​चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले बजारमुखी सोचभन्दा आफ्नै उत्पादन उपभोग गरी आत्मनिर्भर र स्वस्थ जीवनशैली अपनाउन किसानहरूलाई आग्रह गर्नुभयो। राष्ट्रिय मानव अधिकार आयोगकी कर्णाली प्रदेश प्रमुख कल्पना नेपाल (आचार्य) ले यसको प्रभावकारी बजारीकरणका लागि सबै पक्ष जुट्नुपर्ने औंल्याउनुभयो।

​कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले यस वर्ष तेस्रो पटक मनाइएको यो दिवसले मार्सी धानको महत्त्व थप उचो बनाएको बताउनुभयो। उहाँले स्थानीय तहका कृषि शाखाहरूसँग समन्वय गरी रोग नियन्त्रण र विषादी व्यवस्थापनमा कार्यालय सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो।

​कार्यक्रममा किर्डाक नेपाल, पेस नेपाल, वल्ड भिजन र लिबोड चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लगायतका निकायहरूको समन्वय रहेको थियो भने स्थानीय किसान र जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय