राम प्रकाश विक, जुम्ला । जुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित माननीय ज्ञानेन्द्र शाहीलाई बधाई दिँदै गुठिचौर गाउँपालिका वडा नं। १, नापनीकी एक सचेत युवा बास्मति वस्नेतले गाउँका टड्कारो समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको छ। कुनै पनि राजनीतिक दलमा आबद्ध नभई एक स्वतन्त्र नागरिकको हैसियतले वस्नेतले सांसद शाहीलाई चुनावी प्रतिबद्धता स्मरण गराउँदै ५ बुँदे माग प्रस्तुत गर्नुभएको हो।
खस सभ्यताको उद्गम थलोको रूपमा रहेको यस क्षेत्रको विकासमा राज्यको आँखा नपुगेको भन्दै वस्नेतले सामाजिक सञ्जालमार्फत माननीय शाहीको ध्यानाकर्षण गराउनुभएको छ।



सूचना र प्रविधिको युगमा पनि नापनी क्षेत्रमा अझै नेटवर्किङको पहुँच छैन। तत्काल टावर निर्माण गरी सञ्चारको व्यवस्था गर्न माग गरिएको छ। साना बालबालिकाहरूलाई बर्खाको समयमा विद्यालय जान निकै कठिन हुने गरेको छ। नापनीमा कम्तीमा कक्षा ६ सम्मको विद्यालय सञ्चालनका लागि पहल गर्न आग्रह गरिएको छ। गाउँमा चोरी र डकैतीका घटनाहरू बढेका कारण स्थानीयबासी त्रसित छन्। शान्ति सुरक्षा कायम गर्न एक अस्थायी प्रहरी चौकीको माग गरिएको छ। वर्षायाममा खोला बढेर आवतजावत ठप्प हुने समस्या समाधानका लागि कम्तीमा ३ वटा पुल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। हिउँदमा बगरको पानी र बर्खामा धमिलो पानी खानुपर्ने बाध्यता अन्त्य गरी स्वच्छ खानेपानीको व्यवस्थापन गर्न माग गरिएको छ।
ूम कुनै पार्टीको कार्यकर्ता होइन, म त केवल यो माटोको छोरी र एक सचेत नेपाली नागरिक हुँ वस्नेतले भन्नुभएको छ, माननीयज्यूले निर्वाचनका बेला बोल्नुभएका सबै कामहरू अब कार्यान्वयन हुनुपर्छ र हाम्रो गाउँको यी आधारभूत समस्या तत्काल समाधान हुनुपर्छ।ू
निर्वाचित भएपछि जनताका समस्या बिर्सने परिपाटी अन्त्य हुनुपर्ने र नयाँ नेतृत्वले गाउँको मुहार फेर्नेमा नापनीबासी आशावादी देखिएका छन्। जय नेपाल र जय नेपाली आमाको भावका साथ प्रस्तुत गरिएको यो मागले अहिले जुम्लामा निकै चर्चा पाएको छ।



