जुम्ला । दसैँ–तिहार मनाएर रोजगारीका लागि मुग्लान पसेका जुम्लाबासीहरू यतिबेला धमाधम गाउँ फर्किन थालेका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उनीहरू घर फर्किएसँगै जुम्लाका गाउँबस्तीहरूमा चुनावी चहलपहल ह्वात्तै बढेको छ।
केही समय अघिसम्म महिला, बालबालिका र ज्येष्ठ नागरिकमा मात्र सीमित रहेका यहाँका गाउँहरू अहिले भरिभराउ देखिन थालेका छन्। हिमा गाउँपालिकाका स्थानीय प्रयाग आचार्यका अनुसार बाहिरबाट मानिसहरू आउने क्रम बढेसँगै माहोल उत्सवमय बनेको छ। “कामको सिलसिलामा जिल्लाबाहिर रहेकाहरू फर्किएपछि गाउँ जुर्मुराएको छ। उम्मेदवारहरू पनि यही मौका छोपेर घरदैलो अभियानलाई तीव्र पारिरहेका छन्,“ आचार्यले बताए।
जुम्लाका एक नगरपालिका र सातवटै गाउँपालिकाका ६० वटा वडाबाट नागरिकहरू रोजगारीका लागि ’कालापहाड’ (भारतका विभिन्न सहर) जाने पुरानो चलन छ। विशेषगरी सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरीबाट धेरै मानिस व्यापार र मजदुरीका लागि बाहिरिने गर्छन्।
विकास निर्माणलाई गति दिन सक्ने जनप्रतिनिधिको खोज ीगर्न जरुरि देखिन्छ । सबै वर्ग र समुदायलाई मिलाएर लैजान सक्ने नेतृत्व र आफूले मजदुरी गरे पनि आउने पुस्ता (छोरानाति) को दिन सुध्रियोस् भन्ने चाहना अपेक्षा सवैको छ ।
तिला गाउँपालिकाका देवबहादुर थापा भन्छन्, “हामी विकास गर्ने र जनताको मर्म बुझ्ने प्रतिनिधि छान्न घर फर्किएका हौँ।“ आफ्नो आस्थाको दललाई जिताउन र नागरिक कर्तव्य पूरा गर्न पाउँदा मतदाताहरू निकै उत्साहित देखिएका छन्।






