Sunday, August 9, 2026 | 10:16:01 PM

जुम्ला, १० फागुन । “हेल्मेट छ भने, जीवन छ। सिटबेल्ट बाँधौँ, परिवार जोगाऔँ“ भन्ने मूल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले सडक सुरक्षा अभियानलाई तीव्रता दिएको छ। आज मिति २०८२ फागुन १० गते जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष सक्रियता देखाइएको छ।
सवारी साधनको सजावटका लागि प्रयोग गरिने अनावश्यक झल्लर र ब्यानरले चालकको ध्यान मोड्ने र दुर्घटनाको जोखिम बढाउने भन्दै ट्राफिक प्रहरीले आज त्यस्ता सामग्री हटाएको छ। दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनमा झुण्ड्याइएका अनावश्यक कपडा र झल्लरहरू निकालिएको छ। तिव्र गतिमा सवारी चलाउने चालकहरूलाई लक्षित गरी निगरानी बढाइएको छ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट राराली र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख टिकाराम सिग्देल आफै सडकमा खटिएर सवारी चालकहरूलाई प्रशिक्षण दिनुभएको छ। सवारी चेकजाँचका क्रममा नियम मिच्ने र तिव्र गतिमा कुदाउने चालकहरूलाई रोकी तत्कालै २ मिनेटको संक्षिप्त तर प्रभावकारी जनचेतनामूलक कक्षा दिइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख टिकाराम सिग्देलले “हाम्रो उद्देश्य जरिवाना काट्नु मात्र होइन, हरेक चालक सुरक्षित रूपमा आफ्नो गन्तव्य र परिवारसम्म पुगोस् भन्ने हो। सवारी साधनलाई अनावश्यक सजावटमुक्त बनाई ’भिजिबिलिटी’ प्रष्ट पार्ने, तिव्र गतिका कारण हुने सम्भावित सडक दुर्घटना कम गर्ने र चालक र सह–चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउने उहाँले दाबी गर्नुभएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक र सुधारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय