जुम्ला, मंसिर १८ गते । ’सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल उद्देश्यका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुम्ला ले पातारासी गाउँपालिकाका महिला सदस्यहरूलाई लक्षित गरी तीन दिने आधारभूत भेडा तथा बाख्रापालन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त तालिम २०८२ साल मंसिर १५ गते देखि मंसिर १७ गतेसम्म पातारासी गाउँपालिका वडा नं. ७ को पठमारा मा सञ्चालन भएको थियो। कार्यक्रममा ३६ जना महिला सदस्यहरू को सहभागिता रहेको थियो।
तालिम पाएकोमा खुशी व्यक्त गर्दै छिमेक लघुवित्त वित्तीय संस्थाकी सदस्य विमला थापा ले यस्ता खाल्का कार्यक्रमहरू किसानका लागि अति उपयोगी भएको बताउनुभयो।
तालिम समापनका अवसरमा बोल्दै छिमेक लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख अनिल खड्का ले सदस्यहरूको आयमूलक वृद्धिका लागि आम्दानीमा टेवा पुगोस् भन्ने उद्देश्यले स्थानीय स्तरमा यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार, ’स्थानीय भेडा तथा बाख्रा पालौँ, सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारालाई सार्थक बनाउन आयोजित यस कार्यक्रममा सहभागीहरूलाई भेडा तथा बाख्राको जात (नश्ल) पहिचान, पशुमा लाग्ने रोगहरूको नियन्त्रण, र रोग नियन्त्रणका घरेलु उपायहरू बारे विस्तृत जानकारी र सीप सिकाइएको थियो।
शाखा प्रमुख खड्काले लघुवित्तले सदस्यहरूको आयस्तर उकास्नका लागि निरन्तर सीपमूलक कार्यक्रमहरू गरिरहेको जानकारी पनि दिनुभयो। उहाँले अघिल्लो वर्ष झार्जोलामा च्याउ खेती तालिम सम्पन्न गरिएको र यस आर्थिक वर्षमा पातारासीको पठमारामा भेडा तथा बाख्रापालन तालिम आयोजना गरिएको स्पष्ट पार्नुभयो।
यस्ता सीपमूलक तालिमहरूले लघुवित्तका सदस्यहरूलाई परम्परागत पेशालाई आधुनिकीकरण गर्दै व्यावसायिक र आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रम सहभागि सदस्यहरुलाई सिपसँगै प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।







