जुम्ला । जुम्लाको सदरमुकाम खलंगामा पाँच दिनसम्म सञ्चालन भएको कर्णाली जात्रा सकिएको छ। गत साउन २५ गतेदेखि सुरु भएको जात्रा आइतबार सकिएको हो। तामझाम र बाक्लो उपस्थितिमा लाखे काटेर जात्रा विधिवत् रूपमा सम्पन्न भएको हो ।



वि.सं. १९५३ देखि सुरु भएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो। प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने उहाँले बताउनुभयो । जुम्लामा गाँठे मंगल (घण्टाकर्ण) देखि लाखे नचाउने र देउडा खेल्ने चलन छ। यो संस्कृति विशेष गरी मल्लकालीन सभ्यताबाट सुरु भएको किंवदन्ती रहेकोे छ। त्यस सभ्यताले जन्माएको संस्कृति मुलुकका धेरै जिल्लामा वर्षेनी धुमधामसँग मनाउने गरिएको छ ।
जात्रा सम्बन्धी जानकार स्थानीय चित्रलाल श्रेष्ठले वर्षैपिच्छे मनाइने जात्राले वर्षभरि काम गरेका कर्णालीलगायत हिमाली जिल्लाका सर्वसाधारणको थकान मेटाउने तथा मनोरञ्जन दिनुको साथै संस्कृतिको संरक्षण गरेको बतानु भएको छ। जात्रामा जुम्लाका ग्रामीण बस्तीबाट मानिसहरू सदरमुकाममा बाक्लो रूपमा भित्रिएका थिए।
जुम्लाको यो जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नतासँगै संस्कृतिलाई संरक्षण गर्दै आएको छ। जात्रामा नेपाली सेना र नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाललाई भित्र्याएर श्रीकृष्ण सलामी दिने र लाखे काटेपछि सेनाको लस्करसहित सलामी अर्पणसहित लामो रथयात्रा गरेर सम्पन्न गर्ने चलन छ।
यस्तै, चन्दननाथ नगरपालिका-९ श्रीढुस्का गाउँका पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)ले अन्तिम दिन वडिमालिकाबाट ल्याइएको सामग्रीको सरकारी रथ र नागरिकले बनाएको रथसँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहिआएको छ।
यस पटकको जात्रा कृष्ण अष्टमीको दिन रातको १२ बजे कृष्ण जन्मने र त्यसपछि देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ। करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट, सुर्खेत र रुकुम जिल्लाका मानिसहरू आएपछि जुम्ला सदरमुकाम खलंगा भरिभराउ छ। लाखे काटेपछि बेलुका ५ बजे असत्यमाथि सत्यको विजय गराउन भान्जा कृष्णले मामा कंस (लाखे) को समाप्त गर्ने र त्यसपछि सदरमुकाममा विजय र्याली मनाउने चलनअनुसार लाखेकाटी र्याली निकालेर औपचारिक रूपमा जात्रा सकिने जानकारहरू बताउँछन्।
जुम्ला बजारमा जात्राको अन्तिम दिन हजारौं मानिसहरू जात्रा हेर्न आउने प्रचलन छ। प्रहरीका अनुसार जात्रामा कुनै आपराधिक क्रियाकलाप भएका छैनन् । कर्णालीकै जात्रालाई शान्त रूपमा सम्पन्न गर्न पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो। नगर प्रहरी पनि थिए। यस्तै, सिञ्जा क्षेत्रका सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा पनि जात्रा सम्पन्न भएको छ।



